Logo

ललितानिवास जग्गा प्रकरणमा नेताहरुलाई उन्मुक्ति, कर्मचारी थुनिने



काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नेताहरुले उन्मुक्ति पाउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी र पूर्जा बनाएकाहरुलाई मात्र बयानका लागि बोलाएर राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिने शैली अपनाएको छ ।

छानविनका क्रममा रहेको ललितानिवास जग्गा प्रकरणमा ठूला नेताहरु मुछिएका छन् । जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको समेत नाम आयो । उनको छोराको नाममा ललिता निवासको आठ आना जग्गा भेटिएको थियो । पौडेलसँग निकटहरु जग्गा व्यक्तिको नाममा पुर्याउन संलग्न रहेको भेटिएको थियो ।

नेकपा नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्याउने चलखेल भएको भेटिएको थियो । त्यसबाहेक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारलगायतका नेताहरु समेत मुछिए । तर, उनीहरुसँग बयानका लागि अख्तियारले कुनै अग्रसरता देखाएको छैन ।

बयानका लागि सूचना प्रकाशित गर्ने क्रम जारी छ । १८ भदौमा सूचना प्रकाशित गरी ५८ जनालाई बोलाइएको छ । उनीहरुलाई सात दिनभित्र बयानमा जान भनिएको छ । जग्गा प्रकरणमा कर्मचारीहरुसँग बयान लिने क्रम चलिरहेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका एकजना कर्मचारीको रहस्यमयी मृत्यु भएको छ । उनले आत्महत्या गरेको भनिएको छ ।

तत्कालीन सरकारले प्रचलित कानून बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरि लिएको हाँडीगाउँ मौजा नम्बर ४५६ को लगत भिड्न् ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय,डिल्लीबजारका कर्मचारीहरु र शक्तिशाली व्यक्तिहरु मिलेर व्यक्तिको नाममा पुर्जा निकालि दिएका थिए । घटना बाहिर आएपछि राष्ट्रिय चर्चाको विषय बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot