Logo

प्रचण्डले पूर्व एमालेको मन जित्न आफूलाई पुष्पलाल समूहको भने



विराटनगर, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड पूर्व एमालेको मन जित्न लागिपरेका छन् । पार्टी एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी धार कायमै रहँदा उनले मन जित्न आफूलाई पुष्पलाल समूह भन्दै मदन भण्डारीको विरासत थाम्न आएको संकेत गरे ।

शुक्रबार विराटनगरमा बोल्दै उनले आफू ओरिजिनल माओवादी नभएको खुलाए । उनले भने, ‘म ओरिजिनल चौम, मसाल र माओवादी होइन ।’ २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएको भन्दै पछि मात्र चौम भनिने चौंथो महाधिवेशनमा लागेको बताए । पुष्पलाल समूह नै पछि गएर माले हुँदै एमाले बनेको थियो ।

प्रचण्ड पुष्पलाल समूह छाडेर चौम अर्थात कम्युनिष्ट पार्टीको चौंथो महाधिवेशनमा लागेका थिए । प्रचण्डले चौमको आफू मदन भण्डारी भएको बताए । उनले भने, ‘म चौंथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ आफू ओरिजिनल पुष्पलाल समूह भएको उनको भनाई थियो । उनले आफ्नो राजनीतिक जीवनको आरम्भ तत्कालिन नेकपा एमालेको उत्पत्तिको बिन्दु मानिएको पुष्पलाल समूह नै भएको सुनाए ।

कम्युनिष्ट आन्दोलन र उत्पत्तिका अलावा आफ्नो राजनीतिक जीवनको आरम्भबारे निकै खुलासाहरु गर्ने क्रममा प्रचण्डले पूर्व एमाले पक्षधरहरुको मन जित्न खोजे । नेकपाभित्र अझै पनि प्रचण्डलाई पूर्व एमालेले नेतृत्वका लागि स्वीकार्ने परिस्थिति बनिसकेको देखिदैन । प्रचण्डलाई हिंसात्मक गतिविधिबाट आएको र चौमबाट नेता बनेकाले टाढाको ठान्नेहरु धेरै छन् । त्यसैले प्रचण्डले आफू चौमको नभई पुष्पलाल समूहको भएको बताए ।
File Photo



प्रतिक्रिया दिनुहोस्