Logo

प्रदेश प्रमुख हटाइएकोमा कांग्रेसको आपत्ति : सर्वसत्तावाद र राजनीति विथोल्ने प्रयास



काठमाण्डौ । सरकारले प्रदेश प्रमुख हटाउने निर्णय गरेसँगै विपक्षी दलहरुले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेताहरुले सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुख गरिमामय पद भएको उल्लेख गर्दै सरकारले एकलौटी ढंगले हटाउने सर्वसत्तावादतर्फ जाने प्रयास गरेको आरोप लगाएका छन् ।
फेसबुक पेजमा पौडेलले लेखेका छन्,–प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावाद तर्फ जाने कोशिस हो ।

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारको नियत गलत भएको आशंका व्यक्त गरेका छन् । सरकारले समयको प्राथमिकता एकातिर सरकारको कदम अर्कैतिर भएको भन्दै टुइटरमा प्रतिक्रिया व्यक्त गरेका छन् । त्यसैगरी उनले उपनिर्वाचनको आचारसंहिताको पनि हेक्का नगरिएको उल्लेख गरेका छन् । सहमतिको राजनीति थप बिथोल्ने प्रयत्नको रुपमा शर्माले टिप्प्णी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । यी सबै प्रदेश प्रमुखहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot