Logo

सीमा विवाद सुल्झाउन कूटनीतिक पहल सुस्त



काठमाडौं, मंसिर २२ ।प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन। प्रधानमन्त्री ओली बिरामी भएका कारण भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाटका लागि औपचारिक पहल हुन नसकेको हो। सरकारका तर्फबाट सचिवस्तरीय बैठक राख्ने प्रयास पनि सफल हुन सकेको छैन।

प्रधानमन्त्री ओलीले कात्तिक २५ गते पूर्वप्रधानमन्त्री नेपाललाई बालुवाटार बोलाएर विशेष दूतका रूपमा भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग समय नलिएकै कारण नेपाल भारत जान सकेका छैनन्। गत महिना भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेपछि सीमा विवाद बल्झेको हो। त्यसपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएर राष्ट्रिय सहमति जुटाएका थिए।

ओलीले नेपालसँग छलफलकै बीचमा मोदीलाई फोन गरे पनि सम्पर्क हुन सकेको थिएन। त्यसपछि नेपाल टर्की भ्रमणमा गए भने ओली अस्पताल भर्ना भए। प्रधानमन्त्रीको आग्रहपछि नेपालले भारतीय राजदूतलाई बोलाएर भेटेका थिए। भारतीय राजदूतसँग भेट गरेपछि नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीसहित पूर्वपरराष्ट्र सचिव, राजदूतलगायत १४ जनासँग छलफल गरेका थिए। छलफलमा पूर्वराजदूत भेषबहादुर थापा, रमेशनाथ पाण्डे, भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य तथा सीमाविद् सहभागी थिए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot