Logo

इन्द्रेणीपोखरीको मुहार फेरिँदै



खोटाङ, ८ पुस : खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । ‘परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने कथन यहाँ रही आएको छ ।

समुद्री सतहदेखि करीब एक हजार ७०० मिटर उचाइमा रहेको उक्त पोखरी स्तरोन्नतिका गर्न रु एक करोड १० लाख ३१ हजार ४४० रकम विनियोजन गरिएको छ ।
पोखरी आसपास बालउद्यान, पानीको फोहोरासहितको पोखरी निर्माणलगायतका काम शुरु गरिएको वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । “पोखरीको नाममा रहेको करीब २१ रोपनी जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी निर्माणाधीन छ”, उनले भने, “पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन कृतिमरूपमा फलामको पाता प्रयोग गरेर निर्माण गरिएको इन्द्रेणी राखिएको छ ।”

प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीलाई थप सुन्दर र मनमोहक बनाउँदै पर्यटक भित्र्याउन गाउँपालिकाले थालेको पहलप्रति स्थानीयवासी हर्षित छन् । “इन्द्रेणीपोखरीसँगै वरपरको प्राकृतिक संचनालाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबैको कर्तव्य र दायित्व हो”, स्थानीयवासी इन्द्र नारथुङ्गेलले भने, “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ ।”

गाउँपालिका उपप्रमुख कविता राईले इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थल जोड्न सडकमार्ग खोल्ने काम भइरहेको जानकारी दिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने इन्द्रेणीपोखरीबाट सर्वोच्च शिखर सगरमाथालगायत हिमशृङ्खला तथा तराईका फाँटहरुको दृष्यावलोकन गर्न सकिन्छ । जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) इन्द्रेणीपोखरीमा हरेक नयाँ वर्ष (वैशाख १ गते)का दिन मेला लाग्ने गर्दछ ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृष्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–हलेसी सडकखण्डको रसुवाघाटबाट खोलिएको शाखा सडक हुँदै इन्द्रेणीपोखरी पुगिन्छ ।

लेकाली जनावर तथा चराचुरुङ्गीसमेत देख्न पाइने इन्द्रेणीपोखरीमा सञ्चार सेवाको समेत राम्रो सुविधा रहेको छ । ठूला चउर र घाँसेमैदान रहेको इन्द्रेणीपोखरी सोही पोखरीको नामबाट राखिएको जानकारहरु बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा जिल्लाका हरेक स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएका छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो ।

नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐँसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’लगायतका कार्यक्रम तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot