जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न सरकारले चालकलगायत कर्मचारीको खोजेको बेला दिल्ली–लुधियाना रेलवे सेवाका अनुभवी चालक बमबहादु्र घिमिरे नवलपरासी जिल्लाको तमासपुर गाउँमा फुर्सदका छन् ।
कुरा २०३१ साल सुरु तिरको हो । गुल्मीको गुफावाग्ला अजमिरपोखरीका बमबहादुर समेत चार जना युवालाई धन कमाउन घरबाट भागेर भारत जाने सुर चल्यो । त्यति बेला बमबहादुर १६ वर्षका थिए ।
गुल्मीबाट बुटवल, कपिलबस्तुको तौहिहवा हुदै उनीहरु भारतको सोरत गढ पुगे । त्यहाँ पहिलोपल्ट रेल देखे । गाउँमा मोटरसाइकलसमेत नदेखेका बमबहादुर लाई देख्दा अचम्ममा परे । बिरानो ठाँउ । कहाँजान,े के खाने , के काम गर्ने भन्ने थाहा नै थिएन । गाउँका मान्छेहरु पनि भारतमा नै भएपनि अहिले जस्तो टेलिफोन नै थिएन ।
उनीहरुको सुर थियो–साथमा रहेको बाटो खर्चले जहाँसम्म पुगिन्छ, त्यहिसम्म जाने । सोरतगढमा सुरु भएको उनीहरुको रेल यात्रा कानपुरमा रोकियो । कामको खोजीमा भौतारिएका बलबहादुरमाथि भारतीय रेलवे कम्पनीमा काम गर्ने एक इन्जिनियरको आँखा पर्यो । उनलाई घरमा खाना पकाउने मानिस चाहिएको रहेछ । रेलबाट झरे लगत्तै ती इन्जिनियरले सोधपुछ गर्न थाले र भान्छे जागिर लगाइदिए ।
बमबहादुरले चार वर्ष खाना पकाउने काम गरे । पछि उनलाई रेलमा काम गर्ने इच्छा आयो । मालिकले उनलाई रेलवे विभागमा इन्जिन पुछ्ने काम लगाइदिए । कोइलाबाट चल्ने रेलको इन्जिन सफा गर्न गाह्रो भएकाले उनलाई झन्झट लाग्न थाल्यो । रेलवेमा काम गर्दा उनी २० वर्षका थिए । रेलमा काम गर्दै उनी द्धितिय हुदै प्रथम हुन पुगे । त्यपछि उनलाई कोइलामा कति काम गर्ने भन्ने लागेर आयो । उनलाई ड्राइभर बन्न मन लाग्यो ।
रेल चलाउन जाने पनि लाइसेन्स नपाएसम्म, ड्राइभरको नियुक्ति नपाएसम्म आधिकारिक रुपमा हाँक्न पाइँदैनथ्यो । लाइसेन्स नपाएकाले चलाएको रेल दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिने भन्ने डर हुन्थ्यो । तैपनि उनले ड्राइभरलाई फकाएर आफू सहायक भए पनि रेल हुइँक्याउन थाले । सन् २००५ मा उनी ड्राइभरमा बढुवा भए । नेपालीभाषी भारतीय नागरिक यो पोस्टमा पुगे पनि नेपाली नागरिक भने आफूबाहेक यो पदमा पुगेको उनलाई थाहा छैन ।- कान्तिपुर दैनिकमा नवीन पौडेलले तयार पारेको रिपोर्ट