Logo

काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?



काठमाडौं, ८ फागुन । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा काठमाडौं ओर्लनेबित्तिकै सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने भएका छन् । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले उनलाई बोलाएका हुन् । अहिले मन्त्री बाँस्कोटा नेपालगन्जमा छन् । उनी काठमाडौं ओर्लनेबित्तिकै सिधै प्रधानमन्त्रीको सरकारी निवासमा जाने भएका हुन् ।

हुन त उनले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । उनले,“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।” जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

उनले भने,“आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ, सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।” अडियोमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेको समाचार आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन्।

मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रधानमन्त्रीले जानकारी लिन लागेका हुन्। प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको भेटमा पनि यस विषयमा छलफल भएको स्रोतले बतायो।



प्रतिक्रिया दिनुहोस्

Screenshot