Logo

विकास निर्माणलाई इँटा अभाव



काठमाडौँ, ११ फागुन । सुदूरपश्चिम प्रदेशमा इँटा अभाव भएको छ । वर्षाका कारण व्यवसायीले उत्पादन गर्न नपाएपछि विकास निर्माणको कामले गति लिने बेला बजारमा इँटा अभाव भएको हो । प्रदेशको कैलाली, कञ्चनपुरमा इँटा उत्पादन हुने गर्दछ । दुवै जिल्लामा ८० वटा इँटा उद्योग रहेकामा ७० वटा सञ्चालनमा छन् ।

१० वटा इँटा उद्योग बन्द भइसकेका छन् । सञ्चालन भइरहेका इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न पाएका छैनन् । मङ्सिरदेखि हालसम्म भएको वर्षाले पटकपटक काँचो इँटामा क्षति गरेपछि उत्पादन गर्न नसकेको व्यवसायीको भनाइ छ । यो वर्ष हामीले इँटा उत्पादन गर्नै पाएका छैनौँ, सेती–महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोदकुमार झाले बताएका छन् । उत्पादन नभएकाले बजारमा सबैतिर इँटाको अभाव रहेको व्यवसायीको भनाइ छ । विभिन्न समयमा भएको वर्षाले इँटा व्यवसायमा ठूलो नोक्सान गरेको जनाइएको छ । यो सिजनको सुरुवातमा बनाइएका काँचा इँटालाई मङ्सिरमा आएको पानीले नोक्सान गरेको थियो । त्यसपछि माघको पहिलो हप्ता भएको वर्षाले पनि नोक्सान गरेको व्यवसायीहरूको भनाइ छ । हामी तङ्ग्रिन नपाउँदै विभिन्न समयमा आएको वर्षाले नोक्सान गर्दा व्यवसाय नै धराशयी हुने अवस्था आएको छ, अध्यक्ष झाले बताए । बीचमा केही समय घाम लागेपछि इँटा उत्पादनको कार्य सुरु गर्दा हिजो भएको वर्षाले फेरि नोक्सान भयो ।

माघमा घाम लागेपछि इँटा उत्पादनको कार्य थालेका व्यवसायीले फागुन अन्तिमतिर इँटा बजारमा ल्याउने तयारी गरेका थिए तर आगो लगाएको एक हप्ता बित्न नपाउँदै फेरि भएको वर्षाले चौपट पारेको अध्यक्ष झाले उल्लेख गरेका छन् । उनका अनुसार यस वर्ष इँटा व्यवसायमा करिब दुई करोड रुपियाँ बराबरको नोक्सान भएको छ । इँटा व्यवसायमा नोक्सान बेहोर्नु परेपछि व्यवसायीले काँचो इँटाको बीमा गर्ने व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् तर दोब्बर प्रिमियम तिर्न तयार हुँदा पनि कुनै पनि बीमा कम्पनीले काँचो इँटाको बीमा गर्न नमानेको इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका महासचिव सुरेन्द्र कठायतले बताएका छन् । इँटा सुरक्षित हुन नसकेका बेला राज्यले पनि कर छुट दिन सकेको छैन, उनले गुनासो गरे । इँटा उत्पादन हुन नसकेपछि विकास निर्माणको कार्य पनि प्रभावित भएको जनाइएको छ । बजारमा इँटा नपाइएका कारण सरकारी भवन निर्माणलगायतका कतिपय निर्माणको काम ठप्प भएको प्रदेश निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

इँटा नपाएका कारण निर्माणका काम हुन नसकिरहेको महासङ्घका प्रदेश अध्यक्ष चिरञ्जीवी भट्टले बताएका छन् । महँगो मूल्य तिरेर पनि इँटा पाइएको छैन, उनले भने, इँटा नहुँदा विकास निर्माणको काम रोकिने नै भयो । यस वर्ष इँटाको मूल्य पनि ह्वात्तै बढाइएको महासङ्घको गुनासो छ । प्रतिइँटामा पाँचदेखि सात रुपियाँसम्म वृद्धि गरिएको छ, अध्यक्ष भट्टले भनेका छन्, तर सेती–महाकाली इँटा व्यवसायी सङ्घले भने सङ्घका तर्फबाट मूल्य नबढाइएको दाबी गरेको छ ।
कोही व्यवसायीले इँटाको मूल्य बढाएको हुनसक्छ, सङ्घका अध्यक्ष झाले भने, तर हाम्रो बिक्री मूल्य पुरानै हो । सङ्घले निर्धारण गरेको मूल्य प्रतिइँटा १५ रुपियाँ रहेको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्