Logo

यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपाललाई जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।

२२ वर्षीय तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।

प्रहरी स्रोतका अनुसार रतन तीन वर्षको हुँदा आमाले छाडेर गइन् । उनलाई बाबु मनु तिरुवाले हुर्काए । मनु माओवादी द्धन्द्धकालमा राज्य पक्षबाट मारिए । तर, उनको नाम माओवादीको सहिद सूचीमा छैन । बाबुको मृत्युपछि उनी काकाकार्कीबाट हुर्किए ।

पढाईमा जेहेन्दार रतनले सर्भे सम्बन्धि अध्ययन गरे । उनी सरकारी जागिर खान लोकसेवाको तयारीका लागि काठमाडौं आएका थिए । कम्युनिस्ट पार्टीको कार्यक्रममा उनी पुगिरहन्थे ।

जुम्लाबाटै विद्यालय तहको अध्ययन पूरा गरेका रतले माक्र्सवादको समेत गहिरो अध्ययन गरेका छन् । आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन । माक्र्सवादी विचारधाराको यो भनाईलाई उनले प्राथमिकताका साथ फेसबुकमा राखेका छन् ।

माघको अन्ततिर उनले फेसबुकमा माक्र्सवादको चरम दुरुपयोग भएको लेखेका छन् । जसमा माक्र्स र माओत्से तुङको तस्बिर देखिने गरी आफ्नो तस्बिर जोडेर राखेका छन् । उनको फेसबुक वालमा कम्युनिष्ट विचारकहरु माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर एकैसाथ राखिएको छ ।

रतनको जुम्लाबाट नेपालगञ्ज हुँदै सरकारी जागिर खाने काठमाडौंसम्मको यात्राले नयाँ मोड लिएको छ । अब उनी पूर्व प्रधानमन्त्री प्रचण्डमाथि जुत्ता प्रहार गरेकोमा कारबाहीमा पर्न सक्छन् । रतन अहिले चर्चा र चासोको शिखरमा छन् । बाल्यकालमा आमाबाबुको मायाबाट वञ्चित भएका रतन २२ वर्ष पुग्दा कसरी विद्रोही भए यो अनुसन्धानको विषय हुनसक्छ ।

उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।-Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot