Logo

किन कम्युनिष्ट नेतामाथि आफ्नै कार्यकर्ताले आक्रमण गरे ?



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दुईपटक आक्रमण भइसकेको छ । त्यो पनि आफ्नै कार्यकर्ताबाट ।

प्रचण्डलाई पहिलोपटक बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हाने । माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । कुँवर पूर्व माओवादी लडाकु हुन् । उनीपछि प्रचण्डविरुद्ध चुनाव पनि लडेर चर्चामा आए ।

प्रचण्डलाई आजै भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे । तिरुवा कम्युनिष्ट कार्यकर्ता हुन् । उनले प्रहार गरेको जुत्ता प्रचण्डलाई नलागेपनि यसले ठूलो चर्चा पायो ।

नेकपाकै वरिष्ठ नेता झलनाथ खनालमाथि पनि थप्पड हानिएको छ । खनाललाई सुनसरीका एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले ७ माघ २०६७ मा थप्पड हानेका थिए । पार्टी प्रवेशका क्रममा टीका लगाउन बढ्दा उनले थप्पड हानेका थिए । थप्पड खाएको १५ दिनपछि खनाल प्रधानमन्त्री बनेका थिए ।

थप्पड हान्नेहरुले आफ्नो गल्ती स्वीकारेका छैनन् । आजमात्र प्रचण्डलाई जुत्ता हान्ने तिरुवा कम्युनिष्ट कार्यकर्ता हुन् । उनको फेसबुक पेजमा पनि कम्युनिष्ट नेताहरुको तस्बिर र त्यस्तै पोष्ट देखिन्छ । उनले प्रचण्डको कुरा चित्त नबुझेर प्रहार गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सहिदहरुको अपमान गर्ने गरी नेताहरु विलासी बनेको आरोप समेत लगाए । तिरुवाले कुनै पश्चात्ताप देखाएनन् बरु आवेशमा जुत्ता हानेको बयान दिएका छन् ।

खनाललाई थप्पड हार्ने रेग्मीले पनि कुनै पश्चात्ताप देखाएका छैनन् । रेग्मी तत्कालिन एमालेका सहयोगी थिए । उनी कार्यकर्ता भने थिएनन् र पार्टी सदस्यता लिने तयारीमा थिए । कम्युनिष्ट पार्टीका समर्थक रेग्मीले नेताहरुको कार्यशैलीप्रति तिव्र आक्रोश जनाए । अहिले उनी कृषि गरेर सामान्य जीवनयापन गर्दै आएका छन् ।

प्रचण्डलाई थप्पड हान्ने पदक कुँवरले पनि कुनै पश्चात्ताप गरेनन् बरु गर्व गरे । उनी प्रचण्डविरुद्ध अभिव्यक्ति दिदै हिंडे । पछि चुनाव पनि उनीविरुद्ध नै लडेर चर्चामा आए ।

कम्युनिष्ट कार्यकर्ता नै आफ्ना नेताप्रति असन्तुष्ट भएर भौतिक आक्रमणमा उत्रनुमा उनीहरुले देखाएको बाचा अनुसारको काम गर्न नसक्नु पनि कारण हो । पछिल्लो समय प्रचण्डको घरमा पूर्व लडाकु पुगेरै विरोध जनाए । पूर्व बाल लडाकुको असन्तुष्टि उस्तै छ । कम्युनिष्ट पार्टीले जसरी जनतामाझ सपना देखाए त्यसभन्दा भिन्न तरिकाले नेताहरु विलासी बन्दा पनि असन्तुष्टि व्याप्त देखिन्छ । तर, यसको उत्तर हिंसा हुन सक्दैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot