Logo

कस्तो छ कोरोना संक्रमितको स्वास्थ्य अवस्था



काठमाडौं, २१ चैत्र । नेपालमा अहिलेसम्म छ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये दुईजना काठमाडौंमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा निकै सुधार भइरहेको बुझिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले उपचाररत किशोरी र युवकमा कुनै जटिलता नभएको खुलाएका छन् उनले भने, उहाँहरुको राम्रो तरिकाले उपचार भइराखेको छ । त्यहाँबाट जुनखालको जुन जटिलताहरु देखिने गरेको छ, त्यो अवस्था छैन । त्यसले गर्दा उहाँहरु ठीकै हुनुहुन्छ ।

टेकुस्थित उपचाररत संक्रमितले गतिलो सन्देश पनि दिएको पुनले बताए । उनले भने, ‘कोरोना लाग्नेबित्तिकै मान्छे मर्दैन भन्ने राम्रो उदाहरण उहाँहरु नै हो ।’

अहिले सामान्य मान्छेहरुबाट ‘संक्रमण हुनेबित्तिकै मरिने हो, त्यसैले यिनीहरुबाट टाढा रहनुपर्छ । कसैमा रोग देखियो भने टाढा–टाढा भागिहाल्नुपर्छ । यिनीहरुलाई छुनुहुँदैन’ भन्ने धारणा बनेको भन्दै त्यो धारणालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘संक्रमित भएपनि आखिर मर्ने रहेन छ नि त !’

यसैगरी धनगढीमा उपचाररत युवकको अवस्था पनि सुधार हुँदै गएको बुझिएको छ । संक्रमितले आफूलाई सामान्य अनुभूती भइरहेको बताएका छन् । कास्कीमा उपचाररत युवती पनि निको हुँदै गइरहेकी छिन् । अर्की वृद्धालाई भने हिजोमात्र भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot