Logo

कोरोनाविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्यः प्रधानमन्त्री ओली



काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेकाले स्थितिलाई भयाभह बन्न नदिन आजदेखि आठ दिनसम्म लकडाउनको अवधि बढाउनु परेको स्पष्ट गरे ।

मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तरराष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामासमेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले महामारीविरुद्ध लड्न थप हौसला मिलेको बताउँदै प्रधानमन्त्रीले सम्पूर्ण नागरिकको साझा प्रयासले महामारीलाई नियन्त्रण गर्न सफलता मिलिरहेको उल्लेख गरे ।

महामारीका बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको, महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ भएको, त्यसमा सबै नेपाली जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्न लकडाउन विकल्पहीन माध्यम भएकाले यो जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न सबैमा आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot