Logo

कोरोना सङ्क्रमितको अवस्था सामान्य



काठमाडौँ, २८ चैत । कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका हुन् भन्ने जानकारी लिन बसेका थिए ।

अस्पतालको दुई तलामाथि आइसोलेसन वार्ड राखिएको छ, जहाँ दुई जना सङ्क्रमित छन् । सङ्क्रमितबाहेक कोरोनाको आशङ्कामा अन्य नौ जना कोरोनाको लक्षण भएका बिरामी उपचाररत छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला सहितको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् । सिफ्ट अनुसार स्वास्थ्यकर्मीले सङ्क्रमित तथा आइसोलेसनमा बसेका बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।
कसरी हुन्छ उपचार ?
टेकुस्थित सरुवा रोग अस्पताल हरेक सरुवा रोगको उपचार गर्नुपर्ने देशकै केन्द्रीय अस्पताल भएकाले सरुवा रोगसम्बन्धी बिरामी यहाँ आइपुग्छन् । यद्यपि अहिले कोरोनाको भयमा अन्य बिरामी त्यति धेरै आएका छैनन् । कोरोना सङ्क्रमित व्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको छ ।

होटलको कोठामा जे जस्तो सुविधा हुन्छ त्यही सुविधा दिएर सङ्क्रमित व्यक्तिलाई राखिएको छ । टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले पहिले आइसोलेसन वार्डमा केही सुविधा नभएको बताएकाा छन् । कुनै सुविधा नभएका कारण बिरामी भाग्ने, डिप्रेसनमा जानसक्ने भएकाले आफू निर्देशक भएर आइसकेपछि अहिले टिभी, इन्टरनेट, टेलिफोन लगायतका सुविधा राखिएको जानकारी उहाँले दिए ।

सङ्क्रमितको गतिविधि निगरानी गर्न निर्देशक डा. राजभण्डारीको मोबाइलमै व्यवस्था गरिएको छ । मोबाइलबाट उनीहरू के गरिरहेका छन् भन्ने पूरै गतिविधि हेर्न सकिन्छ । सङ्क्रमित तथा आशङ्कित व्यक्तिहरूका लागि उपचारमा खटिनुभएका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सङ्क्रमितको लाक्षणिक आधारमा उपचार गरिने बताएका छन् । हालसम्म कोरोनाको कुनै औषधि आइसकेको छैन,  त्यसैले उनीहरूलाई कस्तो लक्षण भइरहेको छ, त्यही आधारमा उपचार गर्ने गरिन्छ । सङ्क्रमितलाई फोन तथा बाहिरबाट सोधिन्छ, कस्तो अवस्था छ, साह्रो गाह्रो अवस्था के छ, कसरी बसिरहेका छन् भन्ने विषयमा विस्तृत विवरण लिइन्छ । उनीहरूको भनाइ अनुसार उपचार हुन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot