Logo

राजधानीका सडक रङरोगनले चिटिक्क



काठमाडौँ, ३० चैत । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।

सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।”

बन्दाबन्दीका कारण कामदारको अभावमा अहिले उपत्यकाका सडकमा कालोपत्रे गर्ने काम बन्द रहेको बताउँदै उहाँले बन्दाबन्दीपछि बाँकी रहेका सडकहरूमा कालोपत्रे गरिने बताएका छन् । “ती सडकमा भने ट्राफिक चिह्न निर्माण तथा रङरोगन सडक कालोपत्रे भएपछि मात्रै हुनेछ”, उनले स्पष्ट पारेका छन् । बन्दाबन्दी खुलेपछि एक महिनाको समयमा कालोपत्रेको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । ललितपुर र भक्तपुरमा कालोपत्रे गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम पूरा भएको जानकारी सडक विभागले दिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले सोमबारसम्म रङरोगन लगायतका काम सकिने बताएका छन् ।

काठमाडौँ जिल्लामा सडक डिभिजन कार्यालय अन्तर्गतका १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी र जम्मा ४१ किलोमिटर सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । कार्यालयका अनुसार महाराजगन्ज, बालुवाटार, थापाथली, न्यु प्लाजा, पुतलीसडक, भद्रकाली, रत्नपार्क, प्रदर्शनीमार्ग, अनामनगर, धुम्बाराही, हाँडीगाउँ, ज्ञानेश्वर, सामाखुसी, टोखा सडकखण्डमा ट्राफिक चिह्न र रङरोगनको काम सकिएको छ । उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत क्रमशः ९३, ३८ र १९ वटा सडक छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot