Logo

रुसमा कम्युनिस्टको पतनको कारक गोर्वाचोभसँग ओलीको तुलना गरिएपछि…



काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद अध्यादेश ल्याएपछि विकसित घटनाक्रमबारे छलफल गर्न बामदेव गौतको भैंसेपाटीस्थित निवासमा ११ वैशाखको साँझ एउटा बैठक बस्यो । ओली इतरका नेताहरुको बैठकमा उनको कार्यशैलीबारे गम्भीर विश्लेषण भयो ।

नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भौतिक दुरी कायम गर्दै धारणा राखिरहेका थिए । स्रोतका अनुसार बैठकमा सहभागी एक नेताले ओलीलाई रुसी नेता मिखायल गोर्वाचोभसँग तुलना गरे । गोर्वाचोभ तिनै नेता हुन् जसको कार्यशैलीले सोभियत संघको पतन मात्र भएन त्यहाँ कम्युनिस्ट शासन सदाका लागि अन्त भयो ।

मिखायल गोर्वाचोभ सोभियत संघका अन्तिम राष्ट्रपति हुन् । सन् १९८५ देखि १९९१ सम्म सोभियत कम्युनिस्ट पार्टीको महासचिव बनेका उनी १९८८ देखि १९९१ सम्म सोभियत संघको राष्ट्रप्रमुख बने । उनलाई सोभियत संघ बिघटन र रुसमा कम्युनिस्टहरुको पतनको मुख्य कारक मानिन्छ ।

अहिले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीमा लामो समय सँगै काम गरेका एकजना वरिष्ठ नेताले गोर्वाचोभसँग तुलना गरेका छन् । विश्वस्त स्रोतका अनुसार भैंसेपाटी बैठकमा ती नेताले ओलीका कारण कम्युनिस्ट पार्टीकै पतन हुनसक्ने सम्म औल्याए । देशमा संकट आएर अखण्डतामाथि समेत चुनौती आउन सक्ने भन्दै कडा आलोचना गरे । स्रोतले भन्यो, ‘अब ओली कमरेडबाट पार्टी र देश नै खतरामा परेको निष्कर्ष निकालिएको छ । उहाँ गोर्वाचोभ शैलीमा हुनुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाटै हटाउने गरी नेकपाभित्र एउटा समूह सक्रिय भइसकेको छ । त्यसका लागि संसदीय दलमा ओलीलाई अल्पमतमा पुर्याउने भित्री कसरत भइरहेको छ । सचिवालयमा ओली अल्पमतमा परेपनि स्थायी समिति र केन्द्रीय कमिटि बैठकमा उनको शक्ति मापन हुन्छ । स्थायी कमिटि र केन्द्रीय कमिटिमा पनि ओली अल्पमतमा पर्न वरिष्ठ नेता माधवकुमार नेपालले साथ छाड्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot