Logo

माधव नेपाल प्रधानमन्त्री बन्ने लाइनमा, ओली र प्रचण्ड दुवै शर्तसहित फकाउँदै



काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद गरिहिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको छ । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ ।

ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिने । उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ ।

नेकपाभित्र संसदीय दलमा केपी शर्मा ओलीको अझै बहुमत रहेको उनी पक्षधरले दाबी गर्दै आएका छन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल मात्र खुलेर लागेका छन् । तर, अन्तिम टुंगो केन्द्रीय कमिटिले लगाउनसक्छ । केन्द्रीय कमिटिमा कसैको बहुमत छैन । माधवकुमार नेपालले जसलाई साथ दिन्छन् उसैको पल्लाभारी हुन्छ ।

अब नेकपामा माधव निर्णायक शक्ति बनेका छन् । त्यसैले उनलाई मनाउन ओली र प्रचण्ड दुवै लागेका छन् । माधव नेपाल आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्र ओलीलाई हटाउने मोर्चामा सरिक हुनसक्छन् । विश्वस्त स्रोतका अनुसार उनलाई प्रचण्ड र ओली दुवैले प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तसहित प्रस्ताव गरेका छन् ।

ओलीले बजेटपछि माधव नेपाललाई छाड्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डले भने आफू एकमात्र पार्टी अध्यक्ष बन्ने सर्तमा छाड्न तयार देखिएका छन् । तर, अध्यक्षको दाबी झलनाथले पनि गरेबाट कुरा मिलाउन कठिन छ । झलनाथले कुनै पद नपाएमा समर्थन नगर्ने सम्भावना रहन्छ । त्यतिबेला ओलीलाई राहत पुग्न सक्छ ।

अहिले पाँचजना प्रभावशाली नेताहरु पार्टीमा प्रभाव बनाउन राजनीतिक अस्त्र र शर्तहरुसहित प्रस्तुत भएका छन् । ओलीलाई हटाउँदा कसले के पाउने सम्मको कुरा भइसकेको बुझिएको छ । माधव नेपाल प्रधानमन्त्री बनेमा वामदेवले राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री पाउने गरी कुरा मिलेको बुझिएको छ । विष्णु पौडेल र भीम रावल पनि सरकारमा सामेल हुन पाउनेछन् । तर, झलनाथको पनि पार्टीमा मुख्य पदको दाबी रहेको स्रोतले बतायो ।

प्रचण्डको एकमात्र अध्यक्ष बन्ने रणनीति एकातर्फ छँदैछ । माधव नेपाल प्रचण्डलाई सिंगो पार्टीको बागडोर दिएर प्रधानमन्त्री बन्न तयार छैनन् । यसकारण उनले ओलीसँग सम्झौता गरेर अध्यक्ष उनलाई नै छाडेर प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ । तर, ओली माधवलाई थमथमाएर सत्ता टिकाउने कसरत गरिनै रहेका छन् ।

कस्को पक्षमा कति
नेकपाभित्र ओली सरकार धरापमा परेपछि कुन नेताको पक्षमा कति सांसद, सचिवालय, स्थायी र केन्द्रीय सदस्य छन् भन्ने गणना हुन थालेको छ । प्रधानमन्त्री ओली निकटस्थहरुले संसदमा उनी पक्षधरको पूर्ण बहुमतको दाबी गर्दै आएका छन् । ८२ सांसद ओलीको पक्षमा रहेकाले कसैले हल्लाउन नसक्ने दाबी छ । कतिपय ओली निकटस्थहरु माधव नेपालको पक्षमा पुगिसकेका छन् ।

सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा आफूसहित तीनजना छन् । ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल उनको पक्षमा देखिएका छन् । तर, पौडेल कुनैपनि बेला यु टर्न हुनसक्छन् ।

 

 

प्रचण्डका पक्षमा नारायणकाजी स्पष्ट देखिएपनि रामबहादुर थापा बादलको भर हुन छाडेको छ । तैपनि प्रचण्डको पक्षमा आफूसहित कुल ३ जनाको गणना भएको छ । ओलीविरोधी तप्कामा देखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक्ला एक्लै छन् । स्थायी कमिटि र केन्द्रीय कमिटिमा दुवै नेताको पकेट मान्छेहरु छन् ।

स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपालको पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ,टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।

माधव निकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल,भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन् ।

केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो । यसरी पार्टीभित्र प्रचण्डले आफूलाई मजबुत बनाएका छन् । पूर्व एमालेबाट ओली र नेपाल पक्षधर जोड्दा मात्र प्रचण्डको भन्दा बढी हुन आउँछ । तर, अहिले ओली र प्रचण्डबीचको द्धन्द्धमा माधव नेपाल निर्णायक शक्ति बनेका छन् । यसको लाभ उनैले लिनसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot