Logo

लिपुलेकबारे बोल्दा भीम रावल आफ्नै पार्टीभित्र आलोचित



काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावल यतिबेला फेरि चर्चाको शिखरमा पुगेका छन् । भारतले नेपाली भुमी लिपुलेक भएर चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

रावल सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका छन् । सरकार उनकै दल नेकपाको हो । हिजो संसदीय समितिमा रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आलोचना उत्तेजित तरिकाले गरे । परराष्ट्र मन्त्रालयको आधिकारिक वक्तव्यमा किन हस्ताक्षर नगरेको ? भनी प्रश्न गरे । ज्ञवालीलाई आच्छु आच्छु पारे ।

बल्लबल्ल बोल्न पाएका मन्त्री ज्ञवालीले सालिन तरिकाले जवाफ दिदै विश्वव्यापी मान्यता अनुसार विना हस्ताक्षर वक्तव्य सार्वजनिक गरेको उत्तर दिए । रावल जसरी प्रस्तुत भए त्यसप्रति उनकै दलका सहकर्मीहरुले असन्तुष्टि जनाए ।

रावल पूर्व उपप्रधान तथा गृहमन्त्री पनि हुन् । उनी सुदुरपश्चिम प्रदेशका नेकपा इञ्चार्ज पनि हुन् । लिपुलेक सुदुरपश्चिममा पर्छ । रावलको कठोर वचनबाट नेकपाका कतिपय नेता कार्यकर्ताले तिव्र प्रतिक्रिया जनाएका छन् । रावलको नाम उल्लेख गरेर प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले आरोप प्रत्यारोपभन्दा मिलेर अगाडि बढ्न सुझाव दिए । उनले रचनात्मक सहयोगको आग्रह गर्दै सुझाव दिएपछि रावलले अर्ती उपदेश नदिन भने ।

रावलको शैलीप्रति लामो समय तत्कालिन नेकपा एमालेको राजनीति गरेका प्रदीप नेपालले असन्तुष्टि जनाए । नेपालले सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएकाले लिपुलेकबारे नबोल्नु उचित हुने सुझाव दिए । उनले नाम नतोके पनि भीम रावललाई लक्षित गरी धारणा बाहिर ल्याए ।

रावलको अभिव्यक्तिप्रति नेकपाका अधिकांश पूर्व एमाले नेताहरु असन्तुष्ट बनेका छन् । कतिपयले सार्वजनिक रुपमा बोलेका छन् भने कतिपयले आन्तरिक रुपमा बोलेका छन् । विगतमा जिम्मेवार मन्त्रालयको मन्त्री भइसकेका रावलले पछिल्लो घटनालाई राजनीतिक अस्त्र बनाउन खोजेको नेकपाका एक प्रभावशाली नेताले रिपोर्टर्स नेपाललाई भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot