Logo

पानीजहाज, मेट्रो रेल देखि खनिज उत्खननसम्मको महत्वाकांक्षी योजना



काठमाडौं, २ जेठ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तुइन विस्थापनलाई महत्वपूर्ण उपलब्धि भनेको छ । यो आर्थिक वर्षमा तुइन विस्थापनको घोषणा गरेको छ । योसँगै महत्वाकांक्षी योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

देश कोरोना भाइरसको जोखिमसँग लडिरहँदा नीति तथा कार्यक्रममा भौतिक विकासका मीठा सपनाहरु भने समावेश गरिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा नेपाली रेल चल्ने भनेको छ । वीरगञ्ज काठमाडौं र रसुवागढी काठमाडौं रेलमार्ग अगाडि बढाउने उल्लेख गरेको छ । यसका साथै काठमाडौं उपत्यकामा मेट्रो रेलको अध्ययन गरिने उल्लेख छ ।

यसैगरी, नेपालको ध्वजावहाक पानीजहाज गण्डकी नदीमा चलाउने योजना ल्याएको छ । यसअघि कोशी नदीमा जहाज चलाउने विषय समावेश थियो । पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपना नै छ ।

सरकारले खनिज र पेट्रोलियम पद्धार्थको उत्खनन गरी उत्पादन गर्ने महत्वकांक्षी योजना पनि ल्याएको छ । यसको लागि यसै आर्थिक वर्षमा चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन समेत भएको छ । तर, खनिजमा धेरैले लाइसेन्स लिएर होल्ड गरिसकेका छन् । झोलामा खनिज लिनेहरुमा राजनीतिक दलका नेताका आसेपासे र पहुँचवाला नै रहेका छन् ।

सरकारले दुई वर्षभित्र सरकारी कारोबार नगदरसहित बनाउने भएको छ । क्यासलेस कारोबारमा सरकार बढेको छ ।
यसैगरी, नेपालको आफ्नै स्याटलाइन संचालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । पूर्व पश्चिम राजमार्ग देशको सबैभन्दा महत्वपूर्ण सडक हो ।
चितवनको लोथरसम्म पेट्रोलियम पद्धार्थको पाइपलाइन विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्