Logo

गोजीमा हेभिवेटहरुको संयुक्त हस्ताक्षर बोकेर प्रचण्डले ओलीको राजीनामा मागेपछि



काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीका छ जना नेताहरुबीच हिजो गोप्य बैठक बस्यो । उनीहरुले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यताउता नगर्ने सहमति बनाए । विगतमा ओलीले कुनै कुनै नेतालाई आश्वासन दिएर एकता टुटाइदिएको कारण यसपटक त्यसो हुन नदिने प्रतिवद्धता जनाए । प्रतिवद्धताले मात्र काम गरेन । एक अर्काप्रति अविश्वास नहोस् भनेर लिखित सहमति नै जनाए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बसेर त्यस्तो लिखित सहमति गरेका थिए । जसमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सम्मको विषय रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । एक अर्कामाथि धोका नहुने गरी सहमति बनाएपछि ओलीमाथि आज स्थायी कमिटि बैठकमा प्रचण्डले राजीनामा मागे ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न भने । त्यसपछि ओली बैठक छाडेर निस्किएका थिए । पार्टीका नेता र भारत मिलेर आफूलाई हटाउन खोजेको ओलीको अभिव्यक्तिप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए । उनले त्यसको प्रमाण दिन समेत भनेका थिए ।

प्रचण्डले सिधै पार्टीभित्र बहुसंख्यक सचिवालय र स्थायी कमिटि सदस्यहरुले राजीनामा मागेको स्पष्ट पारेका थिए । प्रचण्डले कोटको गोजीमा छ नेताको प्रतिवद्धतासहितको हस्ताक्षर बोकेर बोलेका थिए ।

यसअघि ९ असारमा पनि प्रचण्डले बालुवाटारमा पुगी ओलीको राजीनामा मागेका थिए । उक्त खबर रिपोर्टर्स नेपालले खुलासा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot