Logo

ओलीको रणनीतिः बामदेवलाई फकाउँदै प्रचण्डलाई गलाउँदै



काठमाडौं, २० असार । गएराति बामदेव निवास भैंसेपाटीमा डिनरसहित छलफल चल्यो । छलफलमा थिए नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका खास खास मान्छेहरु ।

ओलीका खास मान्छेहरु साँझ ८ बजेदेखि एक बजेसम्म बसेर गम्भीर छलफल गरे । ओलीसँग सल्लाह गरेर भैंसेपाटी उपाध्यक्ष बामदेव गौतमसँग घनीभुत छलफल गर्नेमा इश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल थिए । उनीहरुले जनताको बहुदलीय जनवादको पक्षधर समुह देखि गएको महाधिवेशनमा सघाएकाले ओलीपछि तपाई नै हो सम्म भन्न भ्याए । सरकारमा लाने देखि अनेकन विषय राखे । यसरी ओलीको अनुमति लिएर पुगेकाहरुले बामदेवलाई फकाउन खोजे । तर, बामदेवले पार्टी फुट्न नदिने तर संस्थागत निर्णयबाट अगाडि बढ्ने गरी मिलन बिन्दु पहिल्याउने कुरा गरे ।

गएरातिको छलफलपछि दुई दिन थप समय लिएर प्रयास गरौं भन्नेमा प्रचण्ड पक्षधरहरु सहमत भए । आज र भोलि घनीभूत छलफल बढाइएको छ ।

बामदेवलाई फकाएर प्रचण्डलाई लगाउने ओलीको रणनीति देखिएको छ । उनी बरु अविश्वासको प्रस्ताव सामना गर्न तयार तर सरकार छाड्न तयार छैनन् । यो स्पष्ट रुपमा प्रचण्डलाई भनिदिएका छन् । नेकपाको निर्णयले ओलीलाई फिर्ता बोलाउँदा हुने दुर्घटनाको सम्भावनाप्रति ओलीवरोधी समुह सजगक भएका छन् । बरु ओली जुनसुकै कदम चाल्न तयारी अवस्थामा छन् । यसरी प्रचण्ड पक्षधरभन्दा ओली पक्षधर फेरि आक्रामक देखिएको छ ।

ओलीले बामदेवलाई मात्र फकाउन सकिने देखेका छन् । माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनी कुनै हालतमा ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने पक्षमा छन् । प्रचण्ड पनि त्यही लाइनमा छन् । प्रचण्ड बरु अप्ठ्यारोमा छन् । पार्टी एकता गरेर बढिसकेका छन् । फेरि विभाजनमा पुग्यो भने एकताको कुनै महत्व रहनेछैन । त्यसैले उनले ओलीसँग भेट्दा आफूले धेरै त्याग गरिसकेको सुनाए ।

ओलीलाई प्रधानमन्त्री बनाउने देखि अप्ठ्यारो पर्दा साथ दिएको सुनाए । तर, ओलीले कुनै त्याग नदेखाएको उनको गुनासो छ । प्रचण्ड माधव र बामदेवको साथ पाएर बलिया देखिएको ओली पक्षको बुझाई छ । त्यसैले यीमध्ये कुनै एकलाई साथ लिने प्रयास चलि नै रहेको छ । माधव नफक्किने र बामदेव फक्किने हुँदा उनी नै चासोमा परेका छन् । हिजो राति अबेरसम्म भैंसेपाटीमा छलफल हुनुको उद्देश्य बामदेवलाई फकाउने नै हो भन्ने प्रचण्ड र माधव पक्षको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot