Logo

गगन थापाको आग्रह : अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्



काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विदा गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई आग्रह गरेका छन् । मंगलबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले हिजोमात्रै अयोध्याबारे बोलेको अभिव्यक्तिलाई थापाले नेकपाको आन्तरिक किचलोमा प्रधानमन्त्री ओलीले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट भएको टिप्पणी गरेका छन् ।

ट्विटरमा थापाले यस्तो लेखेका छन् :

.@PM_Nepal  को अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ।मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।

प्रमलाई राम्रोसंग थाहा छ;यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ।आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।

प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो।कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू!राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।



प्रतिक्रिया दिनुहोस्