Logo

नेकपा गुटगत किचलोको असर विश्वविद्यालयमा



काठमाडौं, साउन ७ । सत्तारूट पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेको गुट–उपगुटको राजनीतिक किचलोका कारण प्राज्ञिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ। अहिले देशका विभिन्न विश्वविद्यालय नेतृत्वविहीन भएको नौ महिना बित्नलाग्दासमेत उपकुलपति नियुक्ति हुन सकेको छैन।

हाल पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ। नेकपाभित्रकै खिचातानीले गर्दा तीनवटै विश्वविद्यालयको शैक्षिक, आर्थिक र प्रशासनिकलगायतका सबै कामकारबाही नौ महिनादेखि ठप्प छ। विश्वविद्यालयमा पाठ्यक्रम दशकौंदेखि परिमार्जनसमेत हुन सकेको छैन।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो। त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको तीन महिने नियुक्ति भयो। उनको पनि तीन महिने म्याद सकिएपछि प्राडा इन्द्रप्रसाद तिवारीलाई पुस १४ गते अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइयो। तर तिवारी वैशाख २१ गते अवकाश भए। शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले मंसिरमै तीनजनाको नाम सिफारिस गरेपनि प्रधानमन्त्रीले अझै नियुक्ति नगरेको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले बताए।

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रगतिशील प्राध्यापक संगठनका बहालवाला अध्यक्ष यादव लामिछानेको नाम सिफारिस गर्न भनेका थिए तर सर्च कमिटीमा लामिछानेको नाम नपरेपछि पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्ति रोकिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot