Logo

‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ : माधव नेपाल



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रबी माधव कुमार नेपालले आफू एकताको पक्षमा रहेको र आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस भएकोले आजको दिन सबैले एकताको गीत गाउनुपर्ने र कसैलेपनि आन्दोलनभन्दा आफूलाई ठूलो ठान्न नहुने स्पष्ट पारेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,‘आज पुष्पलाल स्मृतिको दिनमा मैले एकताको सन्देश दिने हो । आज मैले पार्टीका एकताको लागि सिंगो विश्वास पैदा गर्ने हो । मैले पूरा पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्ने दिन हो । त्यसो हुनाले कसले राजीनामा दिनुपर्छ, कसले राजीनामा दिनुहँुदैन, कसलाई मानिन्छ, कसलाई मानिदैँन, कोसँग एकताबद्ध हुन्छ, कोसँग फुटिन्छ भन्ने दिन होइन । आज हामी एकताको गीत गाऔँ । यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ । भन्ने यिनै पुष्पलालको विचारलाई आत्मसात गरेर उहाँलाई सम्झने हो आजको दिन ।’ प्रस्तुत छ नेता नेपालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

आज पुष्पलाल श्रेष्ठलाई कसरी सम्झनुहुन्छ ?

सर्वप्रथम त तपाईंलाई धेरै–धेरै धन्यवाद छ । आज श्रावण ७ गतेका दिनमा २०३५ सालको श्रावण ७ गतेका दिनमा कमरेड पुष्पलालको निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका योगदानहरू, विचारहरू, दृष्टिकोणहरू, पार्टी निर्माणका दृष्टिकोण तथा सोचहरूलाई आत्मसात् गरेर अगाडि बढ्न सबैलाई हार्दिक आह्वान गर्दछु ।

नेपालमा परीवर्तनका लागि उहाँले राणाशासनको विरुद्धमा उत्रिनुभयो । त्यसपछि उहाँले धेरै किसिमको संघर्षहरू गर्नुभयो । दुःखहरू पनि पाउनुभयो । उहाँको आर्थिक स्थिति पनि निकै कमजोर थियो । २००६ सालदेखि अहिलेसम्म आइपुग्दाखेरि पुष्पलाल श्रेष्ठले अगाडि सारेका नीतिमा तपाईहरू अगाडि बढिरहनु भएको छ कि उहाँको नीति छोड्नुभयो ?

कमरेड पुष्पलालजीको जन्म रामेछाप जिल्लाको भंगेरीमा भएको थियो । उहाँका २ दाजुभाइहरूमध्ये गंगालाल र उहाँका अरू दाजुभाइहरू पनि हुनुहुन्छ, कतिपय जीवितै हुनुहुन्छ । उहाँहरू दुवैजना ३ लाल, गंगालाल, पुष्पलाल र त्यसपछि कृष्णलाल । हामीले पुष्पलालको सम्झनामा कार्यक्रम पनि गरिरहेका छौँ । उहाँको सम्मानमा हामीले कार्यक्रम गरिरहेका छौँ । यसै सन्दर्भमा हामीले भन्नुपर्छ–पुष्पलाल कम्युनिष्ट आन्दोलनको नीति, नेपालको लोकतान्त्रिक आन्दोलनको युगपुरुष हुुनुहुन्थ्यो । नेपालमा यदि पञ्चायती व्यवस्था, निरकुंश शासनलाई फाल्नु छ भने नेपालको राजनीतिक वास्तविकतालाई बुझ्नुपर्दछ । उहाँले यी सबै कुराहरूलाई के को आधारमा बुझ्नुभएको थियो भने माक्र्सवाद, लेलिनवादको आधारमा उहाँ यो निष्कर्षमा पुग्नुभएको थियो । उहाँले के प्रष्ट भन्नुभयो भने नेपालको राजनीतिक विशेषता, अवस्थालाई ध्यानमा राख्नुपर्छ । यो कुरालाई ध्यानमा राखेर चलिएन भने नेपाली जनतालाई कामी शहीद हुने अवस्थामा पुग्न दिन सक्दैनौँ । उहाँ नेपाली जनताको मुक्तिका लागि जीवनपर्यन्त लागिरहनु भयो । उहाँ आज हामी जुन भनिरहेका छौँ, बहुदलीय जनवाद भनिरहेका छौँ, त्यो भन्दा पहिले जनवादको विचार अगाडि सार्ने व्यक्ति पुष्पलालजी हुनुहुन्छ । उहाँले नै नेपालमा कम्युनिष्ट आन्दोलनलाई सुरुवात गर्नुभयो, भन्न सकिन्छ । कम्युनिष्ट पार्टीको स्थापना उहाँकै नेतृत्वमा भएको थियो २००६ सालको बैशाख १० गतेका दिनमा तदानुसार सन् १९४९ अप्रिल २२ तारिखका दिनमा, कलकत्ताको श्यामबजारमा । यसरी नेपालमा नयाँ कम्यनिष्ट पार्टीको सुरुवात गर्ने व्यक्ति, नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने व्यक्ति कमरेड पुष्पलाल हुनुहुन्थ्यो । कमरेड पुष्पलालले पार्टी निर्माणको निम्ति पहल गर्नुभयो । संगठन निर्माण गर्ने, संगठन अगाडि सार्ने, कार्यकर्ता तयार गर्ने, उनीहरूलाई परिचालन गर्ने, को मित्र हुन् र को शत्रु हुन् भन्ने कुरा छुट्याउन सक्ने व्यक्ति हुनुहुन्थ्यो । यस बीचमा उहाँले यस्तो सोच, विचार प्रस्तुत गर्नुभयो, उनको विचारले नेपालको राजनीति तरङ्गीत भयो, देशका युवाहरू कम्युनिष्ट आन्दोलनमा अगाडि बढ्न थाले । कम्युनिष्ट आन्दोलनले सर्वहारा वर्गको रूपमा भूमिका खेल्नुपर्दछ, पूँजीवाद होइन समाजवादबाट मात्रै नेपाली जनताको मुक्ति सम्भव छ, सुख र कल्याण सम्भव छ भनेर उहाँको विचार उहाँले अगाडि सार्नुभयो । नेपालको सन्दर्भमा माक्र्सवादलाई उहाँले जसरी सम्बोधन गर्नुभयो, त्यस विचारलाई उहाँले जसरी विश्लेषण गर्नुभयो, ती सबै आज पनि हामीले ध्यान दिन लायक, अध्ययन, मनन र लागू गर्न लायक छ । उहाँकै शिष्यका रूपमा कमरेड मदन भण्डारी र उहाँकै उहाँ आबद्ध हुनुहुन्थ्यो, हुन त म पनि त्यही समुहमा आबद्ध हो, २०२६ सालमा म पनि त्यही समुहमा प्रवेश पार्टीको सदस्य भएकोले मेरो विशेष लगाव छ कमरेड पुष्पलालप्रति । म जन्मेको रौतहट जिल्ला उहाँको एउटा प्रमुख कर्मथलो भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलन २०२२ सालपछि छिन्नभिन्न अवस्थामा पुगेको थियो । कम्युनिष्ट आन्दोलन कसरी विभिन्न घुम्तीहरूबाट अगाडि बढ्दै गयो, विभिन्न एकताबाट कसरी गुज्रियो, विभिन्न किसिमका वादविवादहरू कसरी आए, वादविवादको स्थितिबाट कसरी गुज्रियो, उहाँ पनि पार्टीको महासचिव हुनुहुन्थ्यो । महासचिवबाट छोड्नुपर्ने स्थिति बन्यो । अनेक किसिमका जटिलता र विसङ्गतिवादी दृष्टिकोणहरू पैदा भए । सबैको विरुद्धमा जुध्दै जुध्दै अगाडि बढिसकेपछि यस्तो विचारलाई बोकेर, उहाँको विचारलाई अगाडि सारेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै बढ्दै गयो । त्यसैले उहाँको विचारलाई अहिले पनि हामी उच्च कदर र सम्मान गर्दछौँ । त्यही बाटोमा हामी अहिले पनि अगाडि बढिरहेका छौँ ।

जीवनशैलीको कुरा गर्दाखेरि पुष्पलालको एकदम सरल जीवनशैली थियो । तपाईको जीवनशैली पनि राम्रो छ, असल नेता हुनुहुन्छ, तपाई । म खुलेर तपाईको पनि प्रशंसा गर्न चाहन्छु । नेपालको राजनीतिमा नेताहरू सुविधाभोगी भए । जनताको समस्यामा कहिले पनि तल्लीन नहुने, आफ्नै लागि मात्र काम गर्ने, व्यक्तिगत स्वार्थमा मात्र लाग्ने भन्ने आरोप छ नेपालका कम्युनिष्ट नेताहरूलाई पनि ? किन ?

कम्युनिष्ट आन्दोलन भनेको दुईतीन ओटा कुराहरूले पतन हुन्छ । पहिलो विचारमा ठुलो भड्काउको रूप लिन्छ । त्यो जब अवसरवादको शिकार हुन्छ, मूल विचार र दृष्टिकोणलाई उसले परित्याग गर्छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई विखण्डनमा लग्छ । कतिपयको सबैभन्दा नराम्रो विचार भनेको कम्युनिष्ट पार्टी नै सिध्याइदिऊँ, कम्युनिष्ट झण्डालाई नै स्वीकार नगर्नु, सर्वहारा वर्गको दृष्टिकोणलाई नै मन नपराउनु, सर्वहारा वर्गीय अगुवाईलाई स्वीकार नगर्नु, यस्ता प्रवृत्ति पहिलो कुरा हो । दोस्रो कुरा भनेको संगठन नबनाउनु, त्यसले सानो गुटमा रमाउनु, सिंगो पार्टीलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित नगराउनु, यसले अर्को पनि कम्युनिष्ट पार्टीलाई कमजोर बनाएर सिध्याउँछ । यदि कम्युनिष्ट पार्टी छ र त्यो कम्युनिष्ट पार्टी गतिहीन छ भने विसर्जन र समाप्तिको दिशातिर जान्छ । अर्को कुरा के हुन्छ भन्दाखेरि कम्युनिष्ट पार्टी छ तर त्यो कम्युनिष्ट पार्टीले गर्नुपर्ने नियमित क्रियाकलाप गर्दैन, त्यसले राष्ट्रको प्रगतिशील गतिविधि गर्दैन र त्यो नाम मात्रको संगठन भयो भने त्यो सिद्धिन्छ । त्यसबाहेक त्यसको आवश्यकता सिद्धिन्छ भने, जनताको विश्वास गर्दैनौँ भने, आफुले पाएको जिम्मेवारी राम्ररी पूरा गर्दैन भने त्यसपछि कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास धर्मराउँदै जान्छ । मनोप्रतिवादी, भ्रष्ट प्रवृत्तिहरू, दामाशाही प्रवृत्तिहरू विकास हुँदै जान्छ । जनता, कार्यकर्ता र संगठनलाई केही पनि महत्व दिँदैन भने त्यसले जनता, कार्यकर्ताको विश्वास गुमाउँछ । त्यसको लागि नेताको जीवनशैली पनि सरल हुनुपर्छ । जनतासँग घुलमिल हुनुपर्छ । जनतासँग एकाकार हुनुपर्छ । नेताहरूमा साझा जीवन उच्च विचार हुनुपर्दछ । तर यी सबै कुराहरूमा विचलन, भ्रष्टचार बढेको छ । जनतासँगको दुरी बढ्न गएको छ । जनताका गुनासाहरू नसुन्ने, जनतालाई भन्दा आफुलाई ठुलो ठान्ने प्रवृत्तिहरू देखा पर्न थालेको छ । विभिन्न देशहरूमा हेर्नुभयो तपाईले के पाउनुहुन्छ भने भावना एकतिर छ, पार्टी अर्कोतिर चलेको छ । युरोप, सोभियत संघको कम्युनिष्ट पार्टीमा नेता जब कार्यकर्ता, जनताबाट टाढा हुन थाले । जनताका मनोभावनालाई उनीहरूले बेवास्ता गर्न थाले । जनताका आलोचनाहरू सुन्न छाडे । जनताका गुनासाहरूलाई अस्वीकार गर्न थाले । त्यसपछि जनताहरू उनीहरू टाढिँदै गए । यसरी सोभियत संघ लगायत देशहरूको हालत हामीलाई थाहा छ । यति मात्र होइन पश्चिम बंगालको कुरा गर्नुहुन्छ भने लामो समय सत्तामा बसिसकेपछि सत्ताको अहंकार पैदा भयो । जनतालाई बेवास्ता गर्न थाले । सत्तामा केही व्यक्तिको हाबी मुहाली चल्ने, उसले जे भन्यो अरूले खुरुक्क मान्नुपर्ने, यी सबै स्थिति त्यहाँ भयो । पार्टी पनि जनताबाट बिस्थापित भयो । पार्टी जनताबाट बिस्थापित भईसकेपछि जनताको समर्थन गुम्न थाल्यो । मूल कुरा के हो भने कम्युनिष्टहरू विचारमा श्रेष्ठ हुन्छन्, सर्वहारा वर्गको अगुवा हुन्छन् । कम्युनिष्टहरू संगठन, संगठन परिचालन, कार्यशैली, दृष्टिकोण, नीति, कार्यक्रम, कार्यान्वयन, परिणाम दिने कुरामा अगुवा हुनुप¥यो । किनभन कुराले चिउरा भिज्दैन । मदन भण्डारीले भन्नुभएको छ, स्मरण गरौँ । कुराले मात्र हुँदो रहेनछ, काम चाहिन्छ । पुष्पलालले आफ्नो समयमा संगठन निर्माण गर्नका लागि, आन्दोलन परिचालन गर्नका लागि सक्दो प्रयास गरे । पछि अगुवाई गणेशमान सिंहले गर्नुभयो । सँगसँगै कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो । पछि गएर त्यसको रियलाइजेशन गिरीजाप्रसाद कोइरालामा पनि भयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको जन्म लगभग उही समयमा भएको थियो । नेपालमा २००३ सालबाटै रातो झण्डाबाट कम्युनिष्ट आन्दोलनको सुरुवात भएको भनिन्छ । कांग्रेस र कम्युनिष्ट पार्टी मिलेर पञ्चायती व्यवस्थालाई ढालियो । त्यसपछि २०६३ सालमा राजतन्त्रलाई नेपालको सधैका लागि विदा ग¥यौँ । त्यसकारण हामीले गणतन्त्र ल्याएर मात्र हुँदैन । हामीले हाम्रो दृष्टिकोणलाई लागू गर्ने कुरा हो ।

आज पुष्पलाल श्रेष्ठको अनुयायीको रूपमा उहाँको विचारलाई अगाडि बढाउनुपर्छ भनेर तपाई लागिरहनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टीको संस्थापकको स्मृति दिवस मनाइरहँदा नेपाल कम्युनिष्ट पार्टी फुट्छ कि फुट्दैन ?

कम्युनिष्ट पार्टीलाई जसले फुटाउने कुरा सोच्छ, त्यो कम्युनिष्ट पार्टीबाट तिरष्कृत भइहाल्छ । पार्टी पंक्ति तथा नेपालका आम जनताबाट पनि तिरष्कृत हुन्छ । पार्टी फुटाउने सोच राख्नु भनेको अपराध हो । पार्टीको निर्णय नमानेर पार्टी फुटाउँछु भन्नु त्यो ठुलो अपराध हो । पुष्पलालले भन्नुभयो, कम्युनिष्ट पार्टीमा नीति, सामुहिकता, विधि प्रधान हुन्छ, त्यहाँ व्यक्तिवाद हुँदैन । तर हामीमा कता कता व्यक्तिवाद, नेतावाद लुकेको छ । त्यसपछि कमरेडको भावना समाप्त हुन्छ । यहाँ कमरेड कमरेड होइन, यहाँ अर्कै किसिमको विकृति देखा परेको छ । कम्युनिष्ट पार्टी कमजोर धरातल, आधारमा जन्मेको होइन । पार्टी बलियो, वैचारिक जगमा निर्माण भएको छ । संरचनात्मक जग पनि बलियो भएको छ । तर आफुलाई मात्र केन्द्रविन्दुमा राख्ने होइन । सामुहिक निर्णयलाई स्वीकार गर्ने हो । सबैको विश्वास र मन जित्ने हो । कमी कमजोरी सुधार गर्ने हो । कमी कमजोरी सुधार गरेर नयाँ विचारबाट अघि बढ्न संकल्प गर्ने हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको बहस सुरु भएको छ ? तपाईंले एउटा निर्णय गर्नुभयो भनेर बाहिर समाचार आएको छ । प्रचण्डलाई साथ दिने महाधिवेशनसम्म, के त्यो सही हो ?

कम्युनिष्ट पार्टीमा हामी मिलेर अगाडि बढ्ने हो । विचार, व्यवहार जोसँग मिल्छ, गतिविधि, सोचहरू जसको राम्रो हुन्छ, उसँग हामी बढी नजिक हुन्छौँ । तर हामी सबै बाँधिन्छौँ पार्टीको अनुशासनभित्र । पार्टीभन्दा व्यक्ति ठुलो कुरा हुँदैन । २०३१ सालमा नयाँ पार्टीको विजारोपण गरेका थियौँ, तर ती सबै संकटबाट म आफै जोगिएको हुनाले पार्टीमा कसरी बहसहरू हुन्छन् भन्ने मलाई थाहा छ । बहस र विवादबाट म आत्तिन्न । वादविवाद, व्यक्तिवादहरू कसरी देखा पर्दछ, कसरी व्यक्तिहरूको व्यक्तिवादहरू अभिव्यक्त हुने गर्दछन्, यो सबै मलाई थाहा छ । पार्टी विभाजनको अनेक शिलशिलाबाट गुज्रिसकेको हुनाले त्यस्ता स्थितिबाट आत्तिएर हिँड्नेवाला अनि कसैले केही भन्नेबित्तिकै बर्बादै हुने भयो भनेर ठान्नेवाला म छैन । म त्यति कमजोर मानसिकताको मानिस होइन । कोही मानिस खत्तम हुने भयो, बर्बाद हुने भयो भन्छन्, केही हुँदैन, सबै चुनौतीको सामना गर्न सकिन्छ । हिम्मत गर्नुपर्दछ, गलत प्रवृत्तिसँग जुध्ने आँट हुनुपर्दछ । जसको आँट छैन, त्यसले कम्युनिष्ट पार्टीमा नलागे हुन्छ । हिम्मत र आँट भएका मानिसहरू मात्रै कम्युनिष्ट पार्टीमा लाग्न सक्छन् । जसले सत्ता, पदको दुरूपयोग गर्दछ, त्यो आफै नांगिदै जान्छ । त्यस्तो खराब कुरामा सम्झौता गर्ने होइन । त्यसैले पार्टी एकता महत्वपूर्ण कुरा हो । पार्टी एकता सिद्धान्त, सिस्टमको आधारमा हुनुपर्दछ । यो पार्टीको सबै सिद्धान्तहरूलाई परित्याग गरेर मलाई केही फाइदा हुन्छ, मैले यो पद, सुविधा पाउँछु, मलाई के के आर्थिक लाभहरू हुन्छ, भन्ने कुरा सोच्यौँ भने त्यो मान्छे कम्युनिष्टमा रहन सक्दैन । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने भूमिका अगाडि बढाउन सक्दैन । गलत प्रवृत्तिहरू आपराधिक मानसिकता बोकेर अगाडि हिँडदछन्, त्यस्ता प्रवृत्तिहरूतिर जाने होइन, त्योसँग जुध्ने हो तर व्यक्तिगत पदको निम्ति मारामार गर्ने पनि होइन । किनभने हामीले पार्टी अगाडि बढाउने हो । आन्दोलनलाई सफल बनाउने हो । कुनै व्यक्तिको पूजा गर्ने होइन । मैले भन्ने गर्छु, व्यक्तिपूजा मूर्दावाद । व्यक्तिपूजा गर्ने, व्यक्तिवाद मान्ने, व्यक्तिलाई सबै ठोक मान्ने कुराको म घोर विरोधी हो । २०३५ सालमा हामीले यसको विरोध गरेका थियौँ । पार्टी कुन शैली र विचारमा बनाउने भन्ने कुरा महत्वपूर्ण कुरा हो । ती सबै विचार, नीतिसँग कम्युनिष्ट पार्टीको एकीकरण जोडिएको छ । कुनै पनि व्यक्तिसँगको यो हाम्रो लडाँइ हुँदै होइन । यो कस्तो पार्टी बनाउने भन्ने कुरा, विचार, नीति, पद्धति, निर्णय प्रक्रियासँग जोडिएको छ ।

प्रधानमन्त्री के.पी. शर्माको राजीनामाको कुरा टरेको हो त ? प्रचण्ड युटर्न हुनुभयो । उहाँ के.पी. शर्मा ओलीको क्याम्पमा जानुभयो । तपाई कता हुनुुहुन्छ ?

हामी सबै एउटै पार्टी निर्माणमा लागेका छौँ । फलानाका विरुद्धमा फलाना लागे भन्ने कुरा हुँदैन । मुख्य कुरा हामी प्रधानमन्त्री र प्रचण्डको विरुद्धमा लागेकै होइन । हामी पार्टी कस्तो बनाउने भन्ने कुरामा छलफल गरिरहेका छौँ । यसलाई व्यक्तिगत वादविवादको कराको रूपमा लिएर भएन । हामी सबै विषयमा गम्भीर चिन्तन, मनन गरिरहेका छौँ । हामी चाहन्छौँ, पार्टी र सरकार कसरी चलाउने भन्ने कुरामा हामी गम्भीर छलफल गरौँ । त्यसै छलफल गर्नका लागि सबैलाई सहभागी गराऔँ । त्यो भइसकेपछि हामी सही ढंगले सही निष्कर्षमा पुग्न सक्छौँ । त्यसैले व्यक्तिलाई परिवर्तन गर्ने, व्यक्तिलाई हटाउने, पात्र बदलिने यो हाम्रो लडाँइ हुँदै होइन । यो भनेको विचार, विधिको लडाँइ हो । कोही व्यक्ति विशेषको विरुद्धमा लागेको भन्ने कुरा गलत हो । हामीले के.पी. शर्मा ओलीको निजी विरोध गरिरहेको पनि होइन । तर यसमा सफलताको सम्बन्ध पनि छैन । हामी मित्र हौँ । मित्रवत् रूपमा हामी अगाडि बढिरहेका छौँ । ४८ वर्षदेखिको हाम्रो सम्बन्ध हो । ३५ वर्षको सम्बन्ध हाम्रो के.पी.सँग । त्यसैले हामीले एकअर्कालाई राम्रोसँग चिन्दछौँ । एकअर्काको बानी, स्वभाव, प्रवृत्ति थाहा छ । त्यसैले सबै कुराको कमिटिमा छलफल गरेर निष्कर्ष निकाल्न सक्दछौँ ।

तपाईहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभयो नि त । राजीनामाबाट तपाईहरू अहिले यु-टर्न हुनुभयो रे ?

व्यक्तिकोृ राजीनामा मागियो भनेर भनिएको छैन । हामीले पार्टीमा छलफल चलाइरहेका छौँ । यसबाट समस्याको समाधान निकाल्न सकिन्छ भन्ने लागेको छ । यो पार्टी एकताबद्ध रूपमा अगाडि बढ्छ । यो पार्टीको विकास कसैले रोक्न सक्दैन । जसले पार्टी फोड्छ, त्यसलाई सबैले गद्दार भन्नेछन् । त्यो फोड्ने हिम्मत कसैको पनि छैन । किनभने यो साना दुःखले आज्र्यको पार्टी होइन । पृथ्वीनारायणले भनेझैँ साना दुःखले आज्र्या यो मुलुक होइन । सबैलाई चेतना भया । भनेजस्तै पुष्पलालदेखि लिएर त्यसताकाका मनमोहन अधिकारी दोस्रो पुस्ताका मदन भण्डारी लगायतका र तेस्रो पुस्ताका नेताहरू लगायतका सम्पूर्ण पार्टीका कार्यकर्ताका बुद्धिबाट मेहनत, त्याग, बलिदान, तपस्याबाट निर्माण भएको यो पार्टी र आन्दोलन भएकाले यो विवादित हुन्छ, सिद्धिन्छ भनेर कसैले कल्पना नगरे हुन्छ । कतिपय प्रतिक्रियावादी शक्तिहरू पर्खेर बसेका छन् । कम्युनिष्ट आन्दोलन फुटोस्, छिन्नभिन्न, विनाश होस् भन्ने सफल हँुदैन भन्ने कुराको आह्वान गर्न चाहन्छु र यो पार्टीलाई विचार, सिद्धान्तको आधारमा एकताबद्ध बनाएर लैजान सिंगो पार्टी प्रतिबद्ध छ ।

त्यसोभए प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छैन, तपाईहरूले ?

पार्टीभित्रको कुराहरूमा हामीले छलफल चलाइरहेका छौँ । पार्टीभित्र विवाद र बहसहरू हुन्छन् । बहसबाट नै पार्टी अगाडि बढ्ने हो । विवाद भयो भनेर आत्तिनुपर्ने पनि केही आवश्यकता छैन । कस्तो मोड, कति घुम्तीहरूबाट अगाडि बढ्यौ भन्ने कुरा हाम्रो पार्टीका सबै नेताहरूलाई थाहा छ । अनेक एकता, जटिलता, विवादहरूबाट हामी अगाडि बढिसकेपछि त्यो ज्ञान, चेतना सबैमा छ । कसैले पनि आफुलाई सार्वभौम, अपरीहार्य ठान्न भएन । यो कुनै एक व्यक्तिको दृढताले गर्दा मात्र पनि भएको होइन । त्यसो भइसकेपछि मात्र आन्दोलन अगाडि बढ्छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन ?

आज पुष्पलाल स्मृतिको दिनमा मैले एकताको सन्देश दिने हो । आज मैले पार्टीका एकताको लागि सिंगो विश्वास पैदा गर्ने हो । मैले पूरा पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्ने दिन हो । त्यसो हुनाले कसले राजीनामा दिनुपर्छ, कसले राजीनामा दिनुहँुदैन, कसलाई मानिन्छ, कसलाई मानिदैँन, कोसँग एकताबद्ध हुन्छ, कोसँग फुटिन्छ भन्ने दिन होइन । आज हामी एकताको गीत गाऔँ । यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ । भन्ने यिनै पुष्पलालको विचारलाई आत्मसात गरेर उहाँलाई सम्झने हो आजको दिन ।



प्रतिक्रिया दिनुहोस्