Logo

शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ



प्रभात सिंहः रुसले कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई मान्यता दिएपछि सँसारभर भ्याक्सिन बजारमा नयाँ तरंग आएको छ । भ्याक्सिनको विकास गरिरहेका अन्य देशहरु पनि गुणस्तर भन्दा पनि बजार केन्द्रित भएर दौडधुपमा सहभागी हुने खतरा बढेको छ । विशेषगरी, रुस, अमेरिका र चीनबीच भ्याक्सिनको बजारमा नियन्त्रण कायम गर्ने दौड चलेको हो ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले २७ साउनमा भ्याक्सिनलाई अनुमोदन गरेपछि अमेरिकाले तुरुन्तै १० करोड डोजका लागि मोर्डनासँग खरिद गर्ने जानकारी दिएका थिए । रुसले कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई अनुमोदन गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो बढाएका छन् । उनले चाँडै नै महत्वपूर्ण उपलब्धि हासिल हुने बताइसकेका छन् । यसको अर्थ अमेरिका पनि जतिसक्दो छिटो भ्याक्सिन विकास गरी बजारमा पुर्याउन चाहिरहेको छ ।

चीनले पनि विकास गरिरहेको खोपलाई थप अनुसन्धानलाई तीव्रता दिइ बजारमा ल्याउन तयारी भइरहेको जनाएको छ । फैलिएको महामारीले नियन्त्रणमा आउन नसकेको कारण अन्य देशलाईसमेत भ्याक्सिनलाई बजारमा ल्याउन अग्रसरता देखाउनु आवश्यक रहेको जनाइएको छ ।

चीनले रुसको भ्याक्सिनप्रति सकारात्मक धारणा सार्वजनिक गरेको छ । अमेरिका र युरोपेली देशहरुले त्यसको विश्वसनीयता र प्रभावकारिताबारे आशंका व्यक्त गरेका छन् । तर, चीनले रुसले मान्यता दिएको भ्याक्सिनलाई बजारसम्म लान रुसलाई सहयोग गर्ने जनाएको छ ।

रुसले अनुमोदन गरेको केही दिन भित्र २० देशहरुले कुल एक अर्ब खोपको निर्माण गर्न अर्डर समेत दिइसकेका छन् । तर, ती देशहरुको नाम खुलाइएको छेन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डिटोरटेले भ्याक्सिनप्रति सकारात्मक धारणा सार्वजनिक गर्दै आफूमाथि पहिलो परीक्षण गर्न भनेका छन् । इजरायलले पनि भ्याक्सिन प्रभावकारी हुने हो भने अर्डर गर्ने जनाएको छ ।

रुसले तत्काल भ्याक्सिनको ५० करोड डोज निर्माण गर्न तयारी रहेको जनाएको छ । एडिनो भाइरस भेक्टर भ्याक्सिन सुरक्षीत र प्रभावकारी रहेको विषयमा शंका रहेका एलर्जी र संक्रमक रोगहरुको राष्ट्रिय संस्थानका निर्देशक एन्थोनी फाउचीले बताएका छन् । रुसले प्रयोगात्मक भ्याक्सिनको निर्माण अगस्त महिनामा ल्याउन विषयको जानकारी अगावै दिइसकेको थियो । तर, यसलाई बजारमा ल्याउने विषय प्रति बेलायतले समेत आपत्ती व्यक्त गरेको छ । चिनियाँ विज्ञहरुले भ्याक्सिनको सुरक्षीत र प्रभावकारी रहेको विषय पत्ता लगाउन निकै कठिन रहेको चिनियाँ सञ्चार माध्यम ग्लोवल टाइम्सलाई जानकारी दिएका थिए । कोरोनाविरुद्व खोपको दौडमा अग्रसर रहेको मुलुकहरु परिक्षणको तेस्रो चरणमा रहेको छन् ।

कोरोना भाइरसविरुद्वको खोप उत्पादन गर्न सिनोभ्याक, सिनाफार्म, अक्सफर्ड एस्ट्रजेनेका, मोर्डना, फाइजर र फोसन उत्पादनका लागि तयार अवस्थामा रहेको छ । उनीहरुको ध्यान कोरोना भ्याक्सिनको बजारमा गएको छ । विश्वभरी १६८ भ्याक्सिनहरु परिक्षण गरिरहेको जनाइएको छ ।

भ्याक्सिन विकासमा लागेको चीन तुरुन्तै मान्यता पाउने विश्वासमा रहेको देखिन्छ । रुसद्वारा विकास गरिएको भ्याक्सिनलाई रुस बाहिरको बजारमा ल्याउन सन् २०२१ देखि २०२५ सम्ममा अत्यधिक लगानी गरिने जनाइएको छ । भ्याक्सिन निर्माण गरिदिन अर्डर गरेका २० देशहरुको नाम रुसले सार्वजनिक गरेको छैन् । भ्याक्सिनलाई प्रत्येक व्यक्तिले दूई पटक लगाउनु पर्ने विषयमा विज्ञहरुले जानकारी दिएका छन् ।

चीनले भ्याक्सिनलाई बजारमा ल्याउन र आफ्नो नागरिकमाथि प्रयोग गर्ने भएको जनाइएको छ । एक पटक लगाएको खोपको रकम २० युआन अथार्त २.८८ डलर र पर्नेछ । चीनले बजारमा भ्याक्सिन बिक्रि सुरु गरेमा चीनलाई १६ देखि २२ अर्ब चिनियाँ युआन नाफा हुने आँकलन गरिएको छ । त्यसैगरी चीनको स्वःउत्पादित भ्याक्सिनको बजार नाफा अधिकतम ७ अर्ब ५० करोड युआनसम्म हुने अनुमान लगाइएको छ ।

रुसले भ्याक्सिन विकास गरिसकेको र अमेरिका, चीन र युरोपमा भ्याक्सिनको विकास भइरहँदा शुरुमा ती देशकै बजारमा पुग्ने निश्चित छ । ती देशले आफ्नो देशमा भ्याक्सिनको प्रयोग गरेपछि मात्र जहाँ फाइदा हुन्छ त्यही भ्याक्सिन विक्री गर्ने देखिएको छ । रुसले विकास गरेको भ्याक्सिन ठुलो धनराशी खर्च गर्न सक्ने खाडी देशहरुमा माग भइसकेको बुझिएको छ । तर, गरिब देशहरुमा भ्याक्सिन पुग्न निकै समय लाग्न सक्ने अवस्था देखिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ । माग बमोजिम उत्पादन भइनहाल्ने कारण भ्याक्सिनमा विपन्न देशका मानिसहरुको पहुँच तत्काल नहुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्