Logo

गणतन्त्रका भाग्यमानी युवराज



काठमाडौं, १५ असोज । गणतन्त्र नेपालमा डा. युवराज खतिवडा सबैभन्दा भाग्यमानी ठहरिएका छन् । उनले एक महिनाको अन्तरालमा लगातार दुईवटा नियुक्ति पाए । अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दियो । त्यसको एक महिना नबित्दै उनको नाम राजदूतको सिफारिशमा परेको छ । त्यो पनि अमेरिकाको ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाका लागि राजदूतमा नाम सिफारिश गर्दा आश्चर्य मान्नुपर्ने थिएन । यसअघि नै उनी अमेरिकाका लागि राजदूत बन्ने चर्चा चलेको थियो । अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै उनैले मन्त्री चलाउने रणनीतिका साथ सल्लाहकार नियुक्त गरिएको थियो ।

खतिवडा राष्ट्रियसभा सदस्यमा मनोनित नभएपछि राजीनामा गर्न वाध्य भएका थिए । साँढे दुई वर्ष अर्थमन्त्री बनेका उनी गैर राजनीतिक क्षेत्रबाट मन्त्री बनाइएका थोरै व्यक्तिहरुमध्ये थिए । त्यसमाथि पनि अर्थमन्त्री बनाइँदा धेरैलाई आश्चर्यचकित पारेको थियो । नेकपाभित्र राजनीति गरेर चुनाव लडेर जितेर आएका पूर्व अर्थमन्त्री तथा अर्थविद्हरुलाई उछिन्दै खतिवडा मन्त्री भएका थिए । जसका कारण उक्त दलभित्र उनीसँग चिढिने धेरै थिए ।

ओलीको शासनकालमा उनी पटक पटक लाभको पदमा रहन पाए । पछिल्लो पटक उनले रोजेकै अमेरिकाका लागि राजदूत बन्ने मौका पाए ।

खतिवडाले गणतन्त्र नआउँदा पनि पटक पटक लाभको पदमा मौका पाएका थिए । राजाको सक्रिय शासनकालमा योजना आयोगका सदस्य थिए । आयोगको उपाध्यक्ष हुनाका अलावा नेपाल राष्ट्र बैंकका गर्भनर समेत बने ।

अहिले उनी अमेरिकाका लागि राजदूत बन्नुमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने प्रयाससँग जोडेर हेरिएको छ । खतिवडाले एमसीसी पारित गर्न निकै जोडबल गरेका थिए । तर, नेकपाभित्र यो विषय विवादमा परेको थियो । अब उनी अमेरिकाका लागि राजदूत बन्नुले यो प्रयासमा थप बल पुग्न सक्छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्

Screenshot