Logo

‘हिजो सीमित बुँदामा मात्रै सहमति हुन बाँकी थियो’, सरकार डा. केसीको स्वास्थ्यप्रति संवेदनशील छ : शिक्षासचिव मैनाली



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिहरुसँगको आफूहरुको वर्ता भंग भयो भनेर आफूले केही भन्न नसक्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सरकारका तर्फबाट वार्ता टोलीका संयोजकसमेत रहेका सचिव मैनालीले भने,‘वार्ता भंग भयो भनेर म केही भन्न सक्दिनँ । मलाई थाहा छैन । हामी मंगलबार उहाँको स्वास्थ्यस्थिति बुझ्नको लागि म त्यतातर्फ गएको थिएँ । त्यसपछि अनौपचारिक रूपमा त्यसै दिनदेखि नै हामी वार्ता, संवादमा छौँ ।’ प्रस्तुत छ शिक्षा सचिव मैनालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

डा. गोविन्द के.सी र सरकारबीचको वार्ता कसरी भंग भयो ? किन भंग भयो ? के कारणले भंग भयो ?

वार्ता भंग भयो भनेर म केही भन्न सक्दिनँ । मलाई थाहा छैन । हामी मंगलबार उहाँको स्वास्थ्यस्थिति बुझ्नको लागि म त्यतातर्फ गएको थिएँ । त्यसपछि अनौपचारिक रूपमा त्यसै दिनदेखि नै हामी वार्ता, संवादमा छौँ । बुधबार नेपाल सरकारले मेरै संयोजकत्वमा तीन जना व्यक्ति रहेको वार्ता टोली गठन ग¥यो । डा. के.सीको तर्फबाट पनि चार जना व्यक्ति रहेको वार्ता टोली गठन भयो । शुक्रबार बिहानैदेखि औपचारि छलफलमा थियौँ । वार्ता हाम्रो एकदम सकारात्मक रूपमा डा. केसीको तर्फबाट वार्ता टोलीमा संलग्न भएका साथीहरू पनि जीवनजीको नेतृत्वको साथीहरू र मेरो नेतृत्वको साथीहरू पनि सहमति जुटाउने अन्तिम प्रयासमा लाग्यौँ । सीमित बुँदामा मात्रै सहमति हुन बाँकी थियो । रात पनि भईरहेको हुनाले उहाँहरूले अलिकति छिट्टै टुंग्याउनुपर्छ भन्नेमा एक प्रकारले हाम्रो सहमति लगभग भईसकेको अवस्थामा नै थियो, सानो–सानो केही कुराहरूमा मात्रै सहमति हुन बाँकी थियो ।

के–के कुरामा सहमति हुन बाँकी थियो ?

यो लगभग सबैजसो बुँदाहरूमा हाम्रो सहमति थियो । सामान्य केही भाषागत कुराहरूमा सहमति जुटाउन थप गृहकार्य आवश्यक थियो । त्यो थप गृहकार्यको लागि मैले आज विहानको लागि बस्नको लागि अनुरोध गरेको छु उहाँहरूलाई ।

तर सत्याग्रह प्रतिनिधि सरकारको छलछामको रबैया देखियो रे ! प्रधानमन्त्री के.पी. शर्मा ओलीले तपाईँहरूलाई समय नै दिनुभएन रे ! सरकारी वार्ता टोलीलाई, किन ? जीवन क्षेत्रीको प्रतिक्रिया आईसकेको छ, उहाँले त आन्दोलनको कार्यक्रम घोषणा गरिसक्नुभयो नि ?

त्यसो होइन । हामीले त डा. के.सीको स्वास्थ्यप्रति असाध्यै संवेदनशील भएर छलफल गर्न आएको हो । यस सन्दर्भमा हामीले सम्पूर्ण पदाधिकारीहरूसँग छलफल गरेका हौँ । सबैसँग छलफल भएको हो । अति संवेदनशील भएर हामी बसेका हौँ । अहिले कोरोना महासंकट पनि भएको हुनाले छिटो वार्ता सम्पन्न गर्ने योजना थियो । हामी दुबै पक्ष त्यही कार्यमा जुटेका छौँ । त्यसैले सरकार असंवेदनशील रह्यो भन्ने कुराहरू होइन । वार्तामा दुबै पक्ष क्रियाशील, एकदम संवेदनशील भएर नै हामी त्यहाँ जुटेका हौँ । त्यसरी हामी असंवेदनशील भयौँ भन्ने विषयवस्तु नै होइन ।

अहिले आएर शिक्षामन्त्रीको कारणले दुरासयी नेतृत्वको कारणले वार्ता सफल हुन सकेन रे ! उहाँ दिनभरि सम्पर्कविहीन हुनुभयो रे !

वार्ता टोली नै माननीय शिक्षामन्त्रीज्युको पहलमा भएको हो । शिक्षामन्त्रीज्युले त झन् अग्रपंक्तिमा रहेर हामीलाई सहयोग गर्नुभएको हो । त्यसकारण वार्तालाई सफल निष्कर्षमा लग्न उहाँहरूले अथक प्रयासहरू गर्नुभयो । त्यसकारण त्यसो भन्न मिल्दैन ।

होइन केसी पक्षधरले त शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई सहमतिको लागि पहल नगरेको भनेर त आरोप लगाएको छ नि ?

उहाँहरूसँग लगभग हामी साँढे दशसम्म सँगै थियौँ । उहाँहरूले के कुराहरू गर्नुभयो ? भन्ने कुराहरू होइन । हामी त सहमतिको लागि बसिसकेपछि एक अर्को पक्षलाई आरोप लगाउनेभन्दा पनि समाधान नै खोज्ने हो नि त । त्यसकारणले त्यस्तो भएको कुनै पनि लाग्दैन । पछि हामी संवेदनशील भएर लागेका छौँ । माननीय मन्त्रीज्युहरू हुनुहुन्थ्यो । सरकार त अति संवेदनशील भएर लागेको छ । वार्ता हुनुभन्दा अगाडिदेखि नै अनवरत रूपमा लागेका छौँ ।

होइन सहमतिको लागि हलो कहाँ अड्कियो ? तपाईँ त एकदम अनुभवी व्यक्ति हो नि त । आज जनतालाई बताईदिनुहोस ?

होइन, हलो अड्किएको होइन । हलो कहाँ अड्कियो ? म भन्न सक्दिनँ । म के भन्छु भन्दाखेरि वार्ता एकदम सहमतिको नजिक पुगेको हो । एकाएक उहाँहरूले अलिकति छिटो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू गर्नुभयो । हामी पनि हिजो बेलुकासम्म टुंग्याउने, त्यसो भएको हुनाले हामी बिहीबार बेलुका नै टुंग्याउने पक्षमा थियौँ । थप छलफल गर्न आवश्यक भयो । फेरि हिजो बेलुका नै हामीले छलफल गरेर लगभग हामीले सहमति भनेर सहमतिपत्र नै तयार गरेका थियौँ । केही भाषागत कुराहरूमा उहाँहरूले अलिकति चित्त बुझाउनु भएन । त्यो चित्त नबुझाएको हुनाले थप छलफल गर्न मैले यो उहाँहरूलाई आह्वान गरेको छु । हामी यो कोरोना महासंकट, केसीको जीवनरक्षालगायत उहाँले उठाउनुभएका सबै पक्षमा हामी एकदमै असाध्यै संवेदनशील छौँ ।

अनशनको आज २७औँ दिन भईसक्यो । डा. केसीको स्वास्थ्यस्थिति एकदम बिग्रेको छ, धड्कन एकदम असामान्य छ । अब के गर्नुहुन्छ, तपाईँहरू ?

हामीले ईमान्दार रूपमा सरकारी वार्ता टोलीले, म वार्ता टोलीको संयोजक भएको हुनाले त्यति मात्र भन्न सक्छु, हामी ईमान्दार भएर हामीलाई दिईएको जिम्मेवारी हामीले सफलतापूर्वक निर्वाह गरिरहेका छौँ । उहाँको जीवनरक्षाको लागि यहाँहरू जस्तो मिडिया, सबै सम्बद्ध पक्षहरू, सबैले सहयोग गर्नुपर्छ । उहाँलाई व्यक्तिगत रूपमा गएर अनुरोध गरेको छु । वार्ता टोली गठन गरिदिए हुन्थ्यो भन्ने उहाँको चाहना थियो । त्यो चाहनालाई मैले सरकारसमक्ष प्रस्तुत गरेँ । प्रस्तुत गरेपछि वार्ता टोली पनि गठन भएको हो । त्यो कुराप्रति हामी एकदम संवेदनशील छौँ । संवादको टोलीबाटै समाधान हुन्छ भन्ने पक्षमा हामी जहिले पनि उदार छौँ, जहिलेपनि हामी त्यो विषयमा संवेदनशील छौँ ।

त्यसो भए मलाई के बताउनुहोस् भन्दाखेरि वार्ता फेरि पनि आज हुन्छ ? सहमति हुनसक्छ ?

सहमति त हुनसक्छ नि । किन नहुने ? लगभग हामी सहमतिकै विषयको टुंगोमा पुगिसकेका थियौँ । त्यसकारण त्यो सहमति नहुने भन्ने कुरा नै छैन । किनभने सहमति नभएको भए हामी अहोरात्र ११ बजेसम्म वार्तामा किन बस्थ्यौँ ? बिहान ७ बजेदेखि हामी वार्तामा रह्यौँ । बिहीबार हामी ११ बजेबाट वार्तामा बस्यौँ । त्यसकारण वार्ता र संवादको टेबुलबाट समस्या समाधान हुन्छ । उहाँको बिगँ्रदै गएको स्वास्थ्यप्रति हामी सबै संवेदनशील हुनुपर्छ । त्यसकारणले गर्दाखेरि मैले हिजो छुटिने बेलामा पनि भनेको छु, भोलि फेरि हामी वार्तामा बस्नुपर्छ । यहाँहरू संवेदनशील हुनुहोस् । हामी संवेदनशील छौँ । मैले जीवनजीलगायत सबै साथीहरूलाई विनम्र अनुरोध गरेको छु ।

त्यसो भए सरकार डा. गोविन्द के.सीको जीवनरक्षा गर्न तयार छ ?

उहाँको जीवनरक्षाको लागि नै हामीले यसरी संवेदनशीलता देखाएको हो । मंगलबारदेखि हामी औपचारिक वार्तामा छौँ ।

हिजो दिनभरि तपाईँहरूले किन कुराउनुभयो, वार्ता टोलीलाई ? किन वार्ता गर्नुभएन ?

हिजो बिहानै ८ बजेदेखि म अनौपचारिक रूपमा म वार्ता टोलीका सदस्यहरूसँग पनि विशेषतः डा. के.सीको वार्ता टोलीका सदस्यहरूसँग म छलफलमा छु । त्यसकारणले गर्दाखेरि अनौपचारिक रूपमा पनि वार्ता र छलफल भएको हो । अनि त्यसलाई औपचारिकता दिनको लागि हामी फेरि बेलुका बसेका हौँ । त्यसकारणले गर्दाखेरि दिनभरि हामी वार्तामा नै छौँ ।

दिनभरि नै वार्तामा हुनुहुन्छ तपाईँहरू ? तर वार्ता भएन । तपाईँहरूले १० बजेमात्र वार्ता सुरु गर्नुभयो नि ?

१० बजे सुरु गरेको होइन । मैले उहाँहरूलाई कति पटक फोन गरेको छु त्यो मेरो मोबाइलले पनि त देखाउँछ नि त । त्यसकारणले यहाँले कति पटक फोन गर्नुभयो र मैले उठाउन सकिनँ ? किन उठाउन सकिनँ भन्दा म वार्तामा संलग्न थिएँ । त्यसकारणले गर्दा हामी सबै साथीहरू खाना सबै छोडेर हामी वार्तामा थियौँ । किनभन्दाखेरि अहिले मुलुक कोरोनामा छ, स्वास्थ्यको विषय एकदम संवेदनशील छ । डा. के.सीको लामो अनशन भएको छ । त्यसकारणले गर्दा उहाँको स्वास्थ्यस्थिति बिग्रन दिनुहुँदैन । हामी त वार्तामा उदार, संवेदनशील, डेडिकेटेड भएर बसेका हौँ । त्यसकारणले हामीलाई त्यसो भन्नुहुँदैन ।

त्यसो भए वार्ताको लागि तपाईँहरूले आलटाल गर्नुभएको होइन ?

आलटाल गर्ने कुरा नै छैन नि । वार्ता समितिको संयोजकले आलटाल गर्छ कहिल्यै ?

परिणाममुखी वार्ता गर्न तपाईँहरू तयार हुनुहुन्न, त्यसलाई सफल पार्नका लागि ?

वार्ता परिणाममुखी बनाउनको लागि त हामीले लगभग सहमति नै गरिसकेका थियौँ । सानो केही कुराहरूमा थप केही छलफल मात्रै आवश्यक भएको हो । त्यसकारण वार्ताको कुरा परिणाममा निस्केर जान्छ । यो बीचमा हामीले कति पटक वार्ता गरेका छौँ ? कति छलफलमा बस्यौँ ?

आजको दिनमा सबैको ध्यान सत्याग्रहमा केन्द्रित भएको छ । सत्याग्रह अहिले कसरी अन्त्य हुन्छ त ? आज अन्त्य हुन्छ त ?

मैले यसमा केही पनि भन्न सक्दिनँ । यसमा हामीले ईमान्दार प्रयास गरेका छौँ । हामी एकदम लागीपरेर बिहानदेखि बेलुका, रातिसम्म बसेर हिजो म घर आईपुग्दा ११ बजेको थियो । त्यसकारण हामी लगातार वार्तामा बसेका छौँ । त्यसकारणले संवादबाट उहाँको जीवनरक्षा हुन्छ । लगभग सबै बुँदाहरूमा हाम्रो सहमति भईसक्यो । सानो कुराहरूलाई हामीले ठुलो अडानको रूपमा राख्नुभन्दा पनि यो अहिले डा. के.सीको जीवनरक्षाको कुराको लागि हामीले पहिलो प्राथमिकता दिनुपर्छ । यस कुरामा उहाँहरू संवेदनशील हुन धेरै अनुरोध गरेँ । यसमा सबै मिडिया लगायत सम्पूर्ण साथीहरूलाई पनि मैले के अनुरोध गर्छु भन्दाखेरि संवादबाट वार्ता निष्कर्षमा पुग्छ । त्यसकारणले अहिले हामीले मेरो गोरुको बा¥है टक्का भन्नेभन्दा पनि, अडान राख्ने कुराहरूभन्दा पनि क्रमशः हामीले यसमा निष्कर्ष निकाल्ने र टुंग्याउनुपर्छ भन्ने पक्षमा छौँ । मैले मंगलबार नै के.सीलाई आफैले भेटेर हजुरले यस्तो अवस्थामा, मुलुकपनि यस्तो अवस्थामा गुज्रिरहेको छ भनेर मैले उहाँलाई धेरै अनुरोध पनि गरेको थिएँ ।

प्रधानमन्त्री र तपाईँबीचमा किन संवाद हुन सकेन ? के कारणले तपाईँहरूलाई प्रधानमन्त्रीले समय दिन सक्नुभएन ?

हामी नेपाल सरकारको वार्ता टोली भएको हुनाले हामी वार्तामा छौँ । त्यसकारणले सबैको हामीसँग सहमति छ । योसँग कुरा भयो, योसँग भएन भन्ने भन्दा पनि हामीले प्रधानमन्त्रीज्युसँग पनि छलफल गरेका छौँ, माननीयज्युहरूसँग पनि छलफल गरेका छौँ । अरू प्रशासनिक रूपमा पनि छलफल गरेका छौँ । यो सहमति कार्यान्वयन गर्नका लागि के भन्दा लाग्छ, मैले अर्थमन्त्रालयसँग पनि छलफल गरेको छु । सबैसँग छलफल गरेका छौँ । त्यसकारणले गर्दाखेरि यो, त्योसँग छलफल भयो, भएन भन्दा पनि हामी छलफलमा छौँ ।

कुरा के कारणले बिग्रियो ? जस्तो डीनहरू हटाउनको लागि तपाईँहरू तयार हुनुभएन अरे ?

यसलाई म कुरा के भन्छु भन्दा लगभग सहमति भईसकेको हो । सामान्य केही भाषागत विषयवस्तुमा मात्रै कुरा थियो ।

कति बँुदा थियो यो सहमतिपत्रमा ? सहमतिपत्र पढेर सुनाउन सक्नुहुन्छ तपाईँ ?

मैले यो वार्ताको वातावरण बिगार्नुछ र मलाई ? मैले त सहमतिमा कुरा लग्नको लागि मिडियालाई पनि सहयोगकर्ताको रूपमा लिन्छु ।

FILE PHOTO/REPORTERSNEPAL



प्रतिक्रिया दिनुहोस्

Screenshot