Logo

नेप्सेसँगै बढ्यो कारोबार रकम, ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार



काठमाडौँ, ४ कात्तिक: मंगलबार नेप्से परिसूचक ०.७९ प्रतिशत अर्थात १२.४७ अंक बढेर १५८२.८४ विन्दुमा बन्द भएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

अघिल्लो कारोबार दिन करिब ९८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १९३ कम्पनीको १८ हजार ४२६ पटकको कारोबारमा १ अर्ब २४ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.४ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७ अंक बढेको छ।
मंगलबार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स, माउन्टेन हाइड्र, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन पनि शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर न्यून रहेको छ। कुनै पनि कम्पनीको शेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी घटेको छैन।

यस दिन कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचक बढेका छन्। यसमध्ये हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण काबेली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ८२ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन अपि पावरको ७ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्