Logo

कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ, अवस्था खराब आउँदैछ संयमित बनौं : डा. पाण्डे



काठमाडौं, ६ कार्तिक । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले सरकारले कोरोना संक्रमित जनताको उपचार निःशुल्क नगर्ने भनेर नभनेको स्पष्ट पारेका छन् । उनले पैसा हुनेले उपचार गर्ने र नहुनेलाई सरकारलाई निःशुल्क उपचार गर्ने जनाए ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले यस्तो बताएका हुन्। उनले भने,‘हिजो २६ जनाको मृत्यु भएको रेकर्ड छ । अघिल्लो दिन ७ । सबैभन्दा धेरै मृत्यु हिजो भएको रेकर्ड छ । संक्रमितहरुको कुरा गर्दा लक्षण भएका व्यक्ति भएका छन् । अहिले धेरै परीक्षण भयो, त्यसैले संक्रमित थपिएका हुन् । संक्रमित थपिएसँगै त्यो रेसियोमा मृत्युदर बढेको छ ।’

उनले संक्रमणको दर बढ्नुको कारण परीक्षणको दायरासमेत बढेको सुनाए । ‘ल्याबको क्षमता बढे । यो सबै हेर्दा अलिक समय बढ्ने देखिएको छ । परीक्षण त बढाउनैपर्छ । तिर्न नसक्ने व्यक्ति, अपांगता, अति गरिब छन् भने पैसा लिएको छैन् । त्यो लिँदैन पनि । जसले तिर्न सक्छ, पैसा तिर्न सक्नेहरुले तिर्नुपर्छ भनेको हो ।’
निःशुल्क उपचार गर्नबाट सरकार पछाडि हट्नै नहुने उनको सुझाव छ । उनले भने,‘भएको स्रोत र साधनको कसरी अधिकतम प्रयोग गर्ने भन्ने हो । संक्रमण भएकाहरुलाई आईसोलेशनमा राख्ने । र, उनीहरुलाई उपचार गर्ने । अस्पतालमा बेड उपलब्ध गराउने हो । सरकारले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । टेष्टिङ गर्नुपर्छ । आईसोलेशन राख्नुपर्छ । जतिसक्दो छिटो भ्याक्सिन उपलब्ध गराउनुपर्छ । सरकार चुप लागेर बसेको छैन् । भ्याक्सिन ल्याउनको लागि स्वास्थ्य मन्त्रालयले धेरै पहिले प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले पनि कुनैपनि बेलामा भ्याक्सिन ईन्टरनेश्नल्ली रिकग्नाईजे भयो भने र डब्लुएचओले मान्यता दिएपछि नेपालमा पनि भ्याक्सिन उपलब्ध हुन्छ । त्यहीअनुसार तयारी गरिसकेको छ ।’

कोरोना संक्रमित विरामीको उपचार निःशुल्क गरिने उनले विश्वास दिलाए । ‘अहिले पनि सरकारले निःशुल्क उपचार गरिरेहेको छ । जसले आँफै उपचार गर्न सक्नुहुन्छ, उहाँहरुलाई आँफै व्यहोर्नुहोस भनेको हो । उपचार गर्न मेरो हैसियत छैन भनेर भन्नुहुन्छ भने उहाँहरुले उपचार पाउनुहुन्छ । दशैं÷तिहारको मुखमा कोरोनाको भयावह अवस्था आउँछ । व्यक्तिहरुको स्वयम संयमित हुनुपर्छ । जाडोको सिजन छ, यो भाईरसको लागि उपयुक्त सिजन पनि हो । अवस्था खराब हुनसक्छ । त्यसैले बेलैमा सचेत होऔं ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot