Logo

ओली र प्रचण्डको तिहारलगत्तै आक्रामक तयारी



काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुबीच दशैं र तिहार शक्ति सञ्चय र एक अर्काविरुद्ध प्रहारको अन्तिम अस्त्र तयार गर्नमै बितेको छ । दशैं अगावै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाबन्दी गरे । उनले माधव कुमार नेपाललगायत पूर्व एमाले नेताहरुसँग राजनीतिक लेनदेन गरेर भएपनि ओलीलाई कमजोर बनाउन कसरत गरे ।

प्रचण्डले ओलीलाई जुनसुकै हालतमा सरकारबाट हटाउने कदमको तयारी गरेका छन् । त्यसका लागि उनले माधवकुमार नेपाललाई प्रधामन्त्री मान्न तयार हुने सम्मको राजनीतिक लेनदेन गरेको बुझिएको छ । त्यसैले नेपाल ओलीको विभिन्न प्रस्तावका बाबजुद प्रचण्ड सँगको गुटमा यताउता भएनन् ।

प्रचण्डले तिहारको समयमा पनि शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् । उनले सचिवालय बैठक डाक्न ओलीलाई वाध्य पारे । ३ मंसिरमा ठुलै तयारीका साथ प्रचण्ड सक्रिय छन् । प्रचण्ड आक्रामक भएपछि ओली रक्षात्मक बन्दै गएका छन् ।

आफूविरुद्ध प्रचण्डले घेराबन्दी गरेको भन्दै ओली त्यसलाई तोड्न सक्रिय छन् । उनले कहिले माधवकुमार नेपाल त कहिले वामदेव गौतमलाई बालुवाटार डाकेर राजनीतिक लेनदेनको कुरा गरेका छन् । नेपाललाई भावी अध्यक्षका लागि साथ दिने देखि मन्त्रिमण्डलमा उनका निकटस्थलाई समावेश गर्ने प्रस्ताव गरेका छन् । तर, नेपाल त्यसबाट ओलीसँग प्रभावित भएनन् ।

प्रचण्डले भने ओलीविरुद्धको मोर्चालाई अझ मजबुत बनाउन सकेका छन् । यसमा माधव नेपाल र वामदेव गौतमले पनि बलियो साथ दिएका छन् । रामबहादुर थापा बादल कुन पक्षमा जाने हुन् स्पष्ट छैन । यसरी ओली र उनीइतरको समूहबीच अहिले पार्टी कमिटीमा बलियो पकड बनाउने प्रतिष्पर्धा चलेको छ । कुनैपनि बेला अविश्वासको प्रस्ताव जानसक्ने देखेर सांसदहरु तानातान चलिरहेको छ ।

नेकपाभित्र यसपटक प्रचण्ड फितलो तरिकाले प्रस्तुत भएका छैनन् । उनले कुनै हालतमा सम्झौता नगर्ने बरु ओलीलाई सरकारबाट फिर्ता बोलाएरै छाड्ने तयारी गरेका छन् । यसका लागि ठूलो राजनीतिक जोखिम मोल्ने सम्मको रणनीति बनाएका छन् ।

ओलीले पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले जुनसुकै चुनौतीको सामना गरिने स्पष्ट पारेका छन् । विगतमा आफूविरुद्ध प्रहार हुँदा ओलीले पार्टी विभाजनसम्मको धम्की दिएका थिए । यसपटक पनि उनको त्यस्तै चेतावनी आइसकेको छ । यसकारण नेकपाभित्र तिहारलगत्तै दुवै पक्षको आक्रामक तयारी छ । यसलाई रोक्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएपनि कमजोर भएका छन् । दोस्रो र तेस्रो पुस्ताका नेताहरु आफ्नो राजनीतिक भविष्य हेर्दै कुनै गुटमा लाग्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot