Logo

बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालले ट्रफी गुमायो



मंसिर २, ढाका । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २–० ले जितेको थियो ।

दुई खेलको सिरिज समग्रमा दुई शुन्य गोलअन्तरले जित्दै घरेलु टोली बंगलादेशले ट्रफी आफैंले राख्न सफल भयो । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो । ट्रफी जित्नका लागि नेपालले कम्तिमा आजको खेल तीन शुन्य गोलअन्तरले जित्नुपर्ने थियो ।

ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् । नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण गर्न चुकेका थिए । खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन । आज बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका थिए । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत पहिलो मैत्रीपूर्णमा भने बंगलादेशले नेपाललाई दुई शुन्यले हराएको थियो ।

समग्रमा दुई शुन्यले जित हात पार्दै ट्रफी बंगलादेशले आफ्नो पोल्टामा पार्यो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्