Logo

बन्चरो प्रहार गरी घाइते बनाउने ३ जना पक्राउ



सिरहा, ३ मंसिर । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सखुवानाकारकट्टी गाउँपालिका–५ ईटहर्वा बस्ने ३ जनालाई धारिलो हतियार खुकुरी तथा बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय अजय गुप्ता समेत ३ जना पक्राउ परेका हुन् ।

घरायसी विवादको कारण सोही ठाउँ बस्ने ४५ वर्षीया डोमनी देवी साह समेत ३ जनालाई खुकुरी तथा बन्चरोले प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

खुकुरी तथा बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनीहरुको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot