Logo

ठेकेदारका कारण सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित



सर्लाही, मंसिर १२ । जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा पनि ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

हालसम्म फुलजोरबाट बयलवाससम्मको चार किलोमिटर र त्यसभन्दा यता छ किलोमिटर गरी अहिलेसम्म जम्मा १० किलोमिटर मात्र सडक कालोपत्र भएको छ । कतै बजार क्षेत्र भएका कारण काम नभएको कतै इनार तथा विद्युत्का पोल रहेका कारण काम हुननसकेको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनी टुँण्डी आशिष सन्तोषी जेभीका ठेकेदार जीवन कँडेलले बताए।

निर्माण शुरु भएको वर्षौँ भइसक्दा पनि ठेकेदारले बेवास्ता गरेका कारण सो क्षेत्रका स्थानीयवासी, यात्रु तथा पैदलयात्री धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । मर्मत तथा निर्माण नहुँदा सो सडकखण्डका विभिन्न भागमा ठुलाठुला खाल्डा परेका कारण सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

सडकको निर्माण अगाडि बढाउन आफूहरुले पटकपटक सडक डिभिजन कार्यालय तथा हुलाकी सडक आयोजना कार्यालयलाई आग्रह गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि आफूहरुले पटकपटक छलफल गरेको तर ठेकेदारले बेवास्ता गरिरहेका कारण थप समस्या आएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताए । “यस सडकखण्डअन्तर्गत पर्ने स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित ठेकेदारसँग पटकपटक छलफल भयो, तर हाम्रो कुरा ठेकेदारले सुन्दैनन् । हामीले समन्वयात्मकरूपमा काम गर्ने हो । सङ्घीय सरकारको बजेटमा आफूहरुको हात हुन्न, ठेकेदारले टेर्दैनन्”, नगरप्रमुख देवकोटाले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्