Logo

निजी क्षेत्रसँगको सहकार्य आवश्यक



काठमाडौं, मंसिर १६। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिडको असरसँग जुझ्न सरकार एक्लैले मात्र नसक्ने भएकाले निजी क्षेत्रसँगको सहकार्य अति आवश्यक भएको बताए ।

उनले भने, “कोभिडले सिर्जना गरेको चुनौतीलाई कम गर्नका लागि सरोकारवाला निकाय सबैको योगदान अपरिहार्य हुन्छ । ” उनले अहिलेको विषम परिस्थितिमा लगानी वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने भएकाले निजी क्षेत्रसँग सहयात्रा गर्दै अर्थतन्त्रलाई चलायमान गराउन सरकार तत्पर रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot