Logo

नेकपाभित्रै सरकारको आलोचना



काठमाडौं, पुस १ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो अध्यादेश फिर्ता हुनुपर्ने माग उठेको छ ।

मंगलबार मत्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाले विरोध गरेको हो ।

अध्यादेश जारी भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको असन्तुष्ट नेताहरूको बैठकले प्रधानमन्त्री ओलीको आलोचना गर्दै अध्यादेश तत्काल फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको छ । साथै यस विषयमा पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने मागसमेत असन्तुष्ट नेताहरूले गरेका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए ।

सरकारले ल्याएको अध्यादेशलाई अध्यक्ष दाहालले संविधानको मूल्य, मान्यता र भावनाविपरीत भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन,’ बैठकमा सहभागी एक नेताले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै भने ।

नेकपा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा रूपमा प्रतिवाद हुने बताए । सरकारले अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्ने बताउँदै उनले यस विषयमा बैठकमा ओलीले जवाफ दिनुपर्ने बताए ।

वरिष्ठ नेता नेपालले पार्टीलाई नै अन्धकारमा राखेर अध्यादेश आएको टिप्पणी गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा समेत कुनै जानकारी नदिई प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot