Logo

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ



काठमाडौं, पुस २९। गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९।१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१।०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४।१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot