Logo

त्रिपक्षीय लगानीमा विमानस्थल



काठमाडौं, पुस २९ । ठूला साना सबै राजनैतिक दलले मुलुकका विभिन्न भागमा अव्यवस्थित रूपमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने र पहाडी क्षेत्रमा नयाँ नयाँ विमानस्थल बनाउने घोषणा गरेको धेरै समय भयो। साना दललाई छोडौं, नेपाली कांग्रेस र पुराना एमाले र माओवादी जस्ता ठूला राजनैतिक दलहरूले आफ्ना चुनावी घोषणा पत्रहरूमा पनि यस्ता नारालाई लिपीबद्ध गरेकै हुन्। तर, काम भने लामो समयसम्म हुन सकिरहेको छैन।

दुर्गम पहाडी क्षेत्रहरूमा नयाँ विमानस्थल बनाउने नीति नारामै सिमित भए पनि पछिल्लो समय केही सहरी क्षेत्रका विमानस्थलहरूको स्तरोन्नति गर्ने काम भने सुरु गरिएको छ। पछिल्ला सरकारहरूले पोखरा, भैरहवाजस्ता महत्वपूर्ण सहरका विमानस्थललाई अर्बौ रूपैयाँ खर्च गरेर स्तरोन्नती गर्न सुरु गरेका छन्। मुलुकका अन्य सहरमा जस्तै विराटनगरस्थित विमानस्थलमा पनि स्तरोन्नतिको काम सुरु भएको छ।

सरकारले यो वर्ष विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रकृया सुरू गरिसकेको छ। विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नती गर्न आवश्यक जग्गा अधिकरणको प्रारम्भिक प्रकृया सुरू गरिएको हो। विमानस्थल विस्तार गर्न आबश्यक जग्गा अधिग्रहणका लागि प्रारम्भिक सर्भे थालिएको विराटनगर विमानस्थलले जनाएको छ।

विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि पुस ७ देखि सर्भे टोलि खटाइएको छ। विमानस्थलका लागि आबश्यक १ सय २६.४६ विघा जग्गा अधिग्रहण गर्न जग्गामा प्राविधिकको टोलिले मार्क गरिरहेको छ। हाल आबश्यक जग्गामा प्वाइन्ट निर्धारणको काम भइरहेको खरेलले जानकारी दिए।

‘जग्गा अधिग्रहणका लागि प्रारम्भिक सर्भे थालिएको छ’ खरेलले भने‘हाल आबश्यक पर्ने जग्गाको प्वाइन्ट निर्धारणको काम भइरहेको छ।’ विराटनगर विमानस्थल बिस्तार गरी ३ हजार मिटरको रन वे बनाउने योजना छ। हाल विमानस्थलको रन वे १ हजार ५ सय मिटरको मात्रै छ। विमानस्थल बिस्तार गरी ३ हजार मिटरको रन वे बनाउन विराटनगरको मात्रै नभई सुनसरीको पनि जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ।

विराटनगरमा रहेको विमानस्थल बिस्तार गर्दा सुनसरी तर्फको पनि केहि जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ। हाल मोरङ र सुनसरी दुबै तर्फको जग्गामा चिनो लगाउने काम भइरहेको र जग्गा अधिग्रहण गर्दा सुनसरीतर्फको पनि जग्गा अधिग्रहण गरिने विमानस्थल प्रमुख खरेलले बताए। दुबै तर्फको गरी ३ हजार मिटरको रन वे निर्माण गर्न पुग्ने जग्गा अधिग्रहण गरिने भए पनि तत्कालका लागि २ हजार ५ सय मिटर मात्रै रन वे निर्माण गरिने छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot