Logo

मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा



काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकार भने निर्वाचन तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका छन्।

निर्वाचन आयोग पनि निर्वाचन तयारीमा जुटेको छ। नेकपा दाहाल–नेपाल समूहले अदालतको फैसला नआउँदासम्म निर्वाचन तयारी रोक्न गरेको आग्रहलाई आयोगले अस्वीकार गरेको छ। आयोगले मतदाता नामवली अद्यावधिक गरिरहेको छ।

गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन तयारीका लागि गृह मन्त्रालयमा संयुक्त बैठक राखेर बजेट अभाव हुन नदिने आश्वासन दिँदै तयारीमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

अर्थमन्त्रीले सुरक्षा निकायका अधिकारीसँग आवश्यक बजेटको खाका मागेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग चुनावी बजेटबारे छलफल भएको छ। गृहमा सोमबार आयोजित बैठकमा गृहमन्त्री थापा र अर्थमन्त्री पौडेलले सुरक्षा निकायका अधिकारीसँग निर्वाचन सुरक्षा र आवश्यक बजेटबारे छलफल गरेका थिए।

अर्थमन्त्री पौडेलले आवश्यक बजेट निकासा गर्ने प्रतिबद्धता जनाएका थिए। गृह मन्त्रालयले सोमबार नै निर्वाचनको वातावरण बनिसकेको जनाउँदै सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको थियो। सरकारले निर्वाचन मिति वैशाख १७ र २७ गते तोकेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot