Logo

विदेशी प्राविधिक ल्याउन कूटनीतिक पहल गरिने



भैरहवा, माघ १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री ढकालले पहिलो पटक उक्त विमानस्थलको निरीक्षण गरेका हुन् ।

त्यस अवसरमा उनले उपकरण जडानको काम पूरा गर्न विदेशी प्राविधिक आउनैपर्ने भन्दै यसका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताएका छन् । “विदेशबाट प्राविधिक आउने कुरा सरकारले मात्रै चाहेर हुँदैन तर छिटो ल्याउने विषयमा कूटनीतिक पहल भइरहेको छ,” मन्त्री ढकालले भने ।

छिटै नै विदेशी प्राविधिक ल्याएर निश्चित समयमा उपकरण जडानको काम पूरा गरी विमानस्थल सञ्चालनयोग्य बनाउने उनको भनाइ छ । विमानस्थलको काम अन्तिम चरणमा पुगे पनि प्राविधिक जनशक्तिको अभावमा काम रोकिनुले अप्ठ्यारो भएको भन्दै उनले आयोजनालाई छिटो प्राविधिक ल्याउनेतर्फ ठोस पहल गर्न निर्देशन दिए ।

“प्राविधिक ल्याउनका लागि आयोजनाले नै पहल गर्नुपर्ने हो, सरकारले आफ्नोतर्फबाट गरिराखेको छ, अब कुनै पनि बहाना देखाएर विमानस्थलको काम लम्ब्याउनु हुँदैन,” मन्त्री ढकालले भने ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत, २०७६/७७ मा ९१ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को यो अवधिमा ९३.८ प्रतिशत विमानस्थलको प्रगति रहेको बताएका छन् ।

विदेशी प्राविधिक नआएकाले यही डिसेम्बर ३१ मा सकिएको विमानस्थल निर्माणको अवधिपछि अर्को म्याद थपिएको छैन ।विमानस्थल विस्तार आयोजनाले पाँचौँ पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot