Logo

भारतले नेपाललाई कोभिड–१९ विरुद्ध दश लाख डोज खोप दियो, भोलि नेपाल आईपुग्ने



काठमाडौं, ७ माघ । भारतले नेपाललाई कोभिड–१९ विरुद्ध दश लाख डोज खोप (भ्याक्सिन) उपलब्ध गराएको छ । आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजनामार्फत यस्तो जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सम्बोधन गरेका थिए । खोप भारतले नेपाललाई अनुदानमा दिने भएको हो । मन्त्री त्रिपाठीकाअनुसार भारतले दिने भ्याक्सिन भोलि नै नेपाल आईपुग्ने छ । र, खोप अग्रभागमा खटिनेहरुलाई प्राथमिकता दिईने पनि उनले जनाए ।

हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रराष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको ट्वीटरमार्फत् जानकारी दिएका थिए । उनले भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले मानवताका आधारमा भ्याक्सिन प्रदान गर्ने प्रतिवद्धतास्वरुप ७ माघबाट उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।
भारतको विदेश मन्त्रालयले हिजो साँझ विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची समेत प्रकाशित गरेको थियो । जसमा पहिलो नम्बरमा भुटान,

दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको थियो । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिने जनाएको थियो ।
भारतमा अक्सफोर्ड एस्ट्रेजेनेकाको भ्याक्सिन पुणेस्थित सेरम इन्टिच्युटले उत्पादन गरेको छ । भारतमा खोपको प्रयोग शुरु भइसकेको छ । लगत्तै उसले मित्रराष्ट्रहरुलाई सहयोगस्वरुप प्रदान गरेको हो ।

भारत बायोटेकको स्थानीय उत्पादन कोभ्याक्सिन पनि प्रयोगमा ल्याएको छ । भारतले विश्वकै सबैभन्दा ठुलो खोप अभियान चलाएको विषय सँसारभर चर्चाको विषय बनेको छ । उसले प्राथमिकतामा राखेर भ्याक्सिन दिनुलाई भ्याक्सिन कुटनीतिसँग पनि जोडेर हेरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्