Logo

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण



काठमाडौं, माघ ११ । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार तल्लो मोदीबाट १३२ केभी क्षमतामा विद्युत् सबस्टेसन चार्ज गरिएको थियो । सबस्टेसनमा रहेका ट्रान्सफर्मरहरूको क्रमिक चार्जपछि १३२ लाई २२० केभीमा रूपान्तरण गरेर प्रसारण लाइनको परीक्षण गरिएको थियो । दुवै परीक्षण सफल भएपछि अहिले म्याग्दीको दानामा रहेको सबस्टेसन चार्ज थालिएको हो ।

पुसको दोस्रो साता म्याग्दीको दाना सबस्टेसन, पर्वतको खुर्कोट सबस्टेसन र बीचमा ११० टावर तथा ३९।६ किलोमिटर तार टाँग्ने सबै काम सकिएको थियो । प्रसारण लाइन तथा सबस्टेसनको नियमित सञ्चालन यसै साता गर्ने तयारीमा प्राधिकरण व्यवस्थापन जुटेको छ । यसपछि घलेम्दी जलविद्युत्को पाँच मेगावाट विद्युत् तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आउने छ ।

त्यसैगरी थापाखोला जलविद्युत् आयोजनाको १३।५ मेगावाट विद्युत् पनि प्रणालीमा आउने छ । सबस्टेसनसम्म विद्युत् पु¥याउन थापाखोलाले अन्तिम तयारी गरिरहेको छ । त्यस्तै ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत्ले पनि एक महिनामा विद्युत् जोड्ने लक्ष्यसहित काम गरिरहेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाटको विद्युत् पनि यसले राष्ट्रिय प्रसारण लाइनमा ल्याउने छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot