काठमाडौं, २४ फागुन । चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आज भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका छन् ।
शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८औं विद्यालय हो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको पनि उपस्थिति थियो ।
नेरु. ६ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको उक्त श्री विष्णुदेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन् जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ।
२०७२ सालको भूकम्पले क्षति पुनयाएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । निर्माण कार्य सुरु हुन लागेको यो ६८ औं विद्यालय हो र ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । काभ्रे जिल्लामा थप दुई विद्यालयको पुनर्निर्माणका लागि ठेक्का हस्तान्तरण भइसकेको अवस्था छ र यी विद्यालयहरुको निर्माण कार्य पनि छिट्टै अघि बढ्नेछ ।
स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुनयाएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।