Logo

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने



काठमाडौं, चैत १ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो । यसैगरी नारायणकाजी श्रेष्ठ र चन्द्रबहादुर खड्काको राष्ट्रिय सभाको सदस्य पद पनि कानुनबमोजिम गुम्ने देखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने उल्लेख छ । सो दफाको उपदफा (१) मा भनिएको छ– ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्नसक्ने छैन ।’

उपदफा (२)मा उपदफा (१) बमोजिम कुनै सदस्यले दल त्याग गरेमा भने त्यस्तो सदस्यको पद जाने स्पष्ट गरिएको छ । उपदफा (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार नेकपा (एमाले)का अध्यक्ष ओलीले गृहमन्त्री थापा, श्रममन्त्री चौधरीलगायत माओवादी केन्द्रबाट निर्वाचित २२ जनालाई एमालेकोे केन्द्रीय सदस्य बनाएको दिन शुक्रबारदेखि नै ती सांसदहरूको पद स्वतः गुमेको देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्