सिन्धुलीमाढीं, चैत २०। तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।
जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।
बागमती प्रदेश सभा सदस्य विनोदकुमार खड्काको बुझाइमा सिन्धुलीका विभिन्न गाउँबस्ती जोड्दै गएका बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग सिन्धुलीको विकासका लागि मेरुदण्ड सावित भएका छन् । सिन्धुली जिल्लामा यतिबेला प्रमुख तीन राजमार्गको सञ्जाल फैलिएको छ ।
सदरमुकाम सिन्धुलीमाढीबाट स्थानीय सडकले जिल्लाका सबै गाउँपालिका जोडिएका छन् । तराई र राजधानी काठमाडौँलाई जोड्ने काम सडकमार्फत सिन्धुलीले गरेको छ ।
त्यति मात्र होइन, पूर्वी नेपालका तराई, पहाड र हिमाली जिल्लाको दूरीसमेत काठमाडौँबाट छोट्याएको छ । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गले सिन्धुली जिल्लाको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बागमती प्रदेश सभा सदस्य प्रदीप कटुवाल बताउन्छन् ।
सिन्धुलीमा सडक पुग्नुअघिका अनगिन्ती दुःख व्यथा यतिबेला गाउँले सम्झन पनि चाहँदैनन् । फिक्कल गाउँपालिका–४, खाङसाङकी सीता बरालले भने, “अहिले त पहिलेको कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्छ । गाउँबाटै मध्यपहाडी लोकमार्ग बनेपछि जिल्ला सदरमुकाम होस् अथवा जुनसुकै ठाउँमा आउनजान सजिलो भएको छ । गाउँको मुहार नै फेरिएको छ । ” गोरखापत्र दैनिकबाट