Logo

एनएसलमा पोखरा थन्डर्सको जित, चितवन र बुटवलबीच बराबरी



वैशाख १५, काठमाण्डौ । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे ।

उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ । विराटनगरको यो पहिलो हार हो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा चितवनले बुटवलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो । खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो ।

खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए । बुटवलका डिफेन्डरले तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो । बुटवलको यो पहिलो बराबरी हो । बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot