Logo

प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै माग सम्बोधन नभए फेरि सामूहिक राजीनामा दिने माधव पक्षको अडान



काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभए माधव नेपाल पक्षले फेरि सामूहिक राजीनामा दिने चेतावनी दिएको छ । अहिले दुवै पक्षका ६ ६ जना नेताहरु सम्मिलित उच्च तहको वार्ता भैरहेको छ । तर, जारी वार्ता सकारात्मक नभएको विश्वस्त स्रोतले जनाएको छ ।

हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टा लामो वार्ता गरेर विवाद हल गर्ने सहमति भएको थियो । तर, नेपालले आज आफू पक्षधर सांसद, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुसँगको बैठकमा हिजोको वार्ताबारे ब्रिफिङ गरेका थिए । कतिपय नेताहरुले ओलीले आफूहरुलाई झुक्याउने काम गरेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।

नेता नेपालले बजेट ल्याउनुभन्दा अघि अर्थात जेठ १५ गतेभन्दा अघि नै विश्वासको मत लिने कुरा गरेकोमा नेता नेपाल झस्किएको स्रोतको दाबी छ । त्यही भएर नेता नेपाल पक्षधरले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफ्ना मागहरु पूरा हुनुपर्ने अडान लिएको छ । उनीहरु आज निर्णायक वार्तामा जुटेका छन् ।

ओली-नेपाल वार्तामा को को छन् (तस्बिरसहित)

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टी धेरै अघि बढिसकेकोले अब पछि फर्कन नसक्ने दाबी गर्छन् । आज राति ८ बजे प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले ०७५ जेठ २ गतेपनि फर्कन नसक्ने र फागुन २८ गते यताका निर्णय पनि फिर्ता नहुने दाबी गरेका छन् ।

नेपाल पक्षले पनि प्रधानमन्त्री ओलीले झुक्याउने काम गरेको पुष्टि भए तत्काल राजीनामा दिएर नयाँ दल खोल्ने तयारी गरेको छ । नेता नेपालले यसबारेमा आफू पक्षधर नेताहरुलाई ब्रिफिङ गरिसकेका छन् । त्यही भएर नेपाल पक्षका नेताहरु आज निर्णायक वार्ताको लागि सिंहदरबार पुगेका हुन् । वार्ता जारी छ । Photo Source: Surya Thapa/Twitter



प्रतिक्रिया दिनुहोस्