Logo

मौन अवधिमा चेतावनी र भावनात्मक शब्दमा प्रधानमन्त्री ओलीले बादलको लागि मत मागे (अपिलसहित)



काठमाडौं, ५ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशतर्फको रिक्त सदस्यको उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा कुनै पनि उम्मेदवार या तिनका समर्थकले मत माग्ने या त्यससम्बन्धी प्रचार प्रसारका गतिविधि गर्न पाउँदैनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधि सुरु भइसक्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका छन् ।

उनले आज एक अपिल जारी गर्दै बादल पार्टीको आधिकारिक उम्मेदवार रहेको उल्लेख गर्दै मतदान गर्न अपिल गरेका हुन् । प्रधानमन्त्री ओलीको अपिलमा भावनात्मक शब्द मात्र मिसिएको छैन चेतावनीको भाषा समेत छ ।

ओलीले अपिलमा भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।’ उनले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने भन्दै चेतावनी समेत दिएका छन् ।

ओलीले अपिलमा पार्टीको एकतालाई सुदृढ गर्न योगदान गर्न जोड दिदै भनेका छन्,‘यस निर्वाचनमा पार्टीका उम्मेदवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आव्हान गर्दछु ।’ उनले बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्ने तर्क गरेका छन् । भावनात्मक शब्द प्रयोग गरी ओलीले सुर्य चिन्हलाई ‘जनताको हृदयमा रहेको निर्वाचन चिन्ह’ भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot