Logo

निषेधाज्ञा पहिलाभन्दा केही खुकुलो



काठमाडौं, जेठ २१ । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो गरी जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय हो । यसअघि, वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने बताउनुभयो । त्यस्तै, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्ने छन् भने विकास निर्माणको काम खुला गरिएको छ । दिउँसो श्रमिक राखेर काम गर्न भने दिइने छ भने विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ ।त्यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजे सम्म खुल्नेछन् । तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ, तर तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ ।प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार यातायातमा पुरानै नियम यथावत् छ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ ।

व्यक्तिगतरूपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ । मल, बीउ तथा खाद्यान्न सामग्री मात्र ढुवानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिइने पनि निर्णय गरिएको छ ।विवाह तथा व्रतबन्धमा बढीमा सात जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ ।

तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन । बिहे र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइने छ ।मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नुपर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानुपर्ने वा फर्किनुपर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेस गर्नेपर्ने बताइएको छ । अरू नियमहरू यथावत् रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot