Logo

को हुन् नवनियुक्त ८ मन्त्री



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा थपेका ८ जना एमाले र जनता समाजवादी पार्टीका छन् । एमालेका पूर्वमाओवादीका तीनजना परेका छन् ।

गृहमन्त्री खगराज अधिकारी कास्कीका हुन् । उनी ओलीका विश्वासपात्र मानिन्छन् ।

राजकिशोर यादव जसपाका नेता हुन् । उनी उपेन्द्र यादव खेमामा जान ठिक्क परेका थिए । यादवलाई रोक्न उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री दिन ओली तयार भए । जसपाले ९ मन्त्री र २ राज्यमन्त्री गरी मन्त्रिमण्डलमा ११ जना पाएको छ ।

सञ्चारमन्त्री बनाइएकी नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । बादललाई खुशी पार्न नैनकला मन्त्री बनाइएकी हुन् । उनी विगतमा महिला आयोगकी अध्यक्षसमेत बनेकी थिइन् ।

ज्वालाकुमारी साह कृषिमन्त्री बनाइएकी छिन् । उनी पूर्वमाओवादीकी हुन् । प्रभु साहनिकट ज्वालाकुमारीलाई मन्त्री बनाएर ओलीले पूर्वमाओवादीको प्रदेश २ को समूहको साथ कायमै राख्न खोजेका छन् ।

वनमन्त्री बनाइएका नारदमुनी राना कैलालीका हुन् । उनले गएको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गरेका थिए ।

सिन्धुलीका गणेशकुमार पहाडी सामान्य प्रशासन बनाइएका छन् । पहाडीले माधव नेपाल समूह छाडेर ओली खेमामा लागेका थिए । उनले हस्ताक्षर गर्न पनि अस्वीकार गरेवापत् मन्त्री पद पुरस्कार पाएका छन् । पहाडीको एमाले नेता योगेश भट्टराईसँग पनि सुमधुर सम्बन्ध रहेको बुझिएको छ ।

कर्णालीका मोहन बानिया प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री बनाइएका छन् । उनी ओलीका नजिक मानिन्छन । सुदूरपश्चिमकी आशाकुमारी वि.क. वनराज्यमन्त्री बनाइएकी छिन् । उनी बझाङकी हुन् ।

थपिएका मन्त्रीहरु
खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री



प्रतिक्रिया दिनुहोस्