Logo

राप्रपामा अध्यक्षत्रयबीच टकराव, फुट जोगाउन मुश्किल



काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद भुसको आगो जसरी फैलन थालेको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको टकरावले फुटको खतरा बढेर गएको छ ।

अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि अध्यक्षहरु पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी असन्तुष्ट छन् । थापाले ओलीको कदमलाई प्रत्यक्ष अप्रत्यक्ष साथ दिदै आएका छन् । उनले सार्वजनिक रुपमा पनि ओलीको कतिपय कदमको प्रशंशा समेत गरेका छन् । तर, राणा र लोहनी ओलीको कदमका आलोचक बन्दै आएका छन् ।

राप्रपाभित्र थापासँग राणा र लोहनी निकै चिढिएका छन् । राणानिकट स्रोतका अनुसार थापाविरुद्ध कुनैपनि बेला कडा कदमको तयारी भएको छ । राणासँग उनीनिकटस्थहरु समेतले थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले यस्तै अवस्था रहे राप्रपामा बस्न नसकिने चेतावनी समेत दिएको बुझिएको छ ।

राणासँग नजिक रहेका पूर्वमन्त्री सुनिलबहादुर थापाले अध्यक्ष कमल थापाको कार्यशैलीकै कारण पार्टी परित्याग गरेको चर्चा अझै चलिरहेको छ । राणाको समूहभित्र पनि यो विषय उठ्न थालेको छ ।

अध्यक्ष कमल थापाले ओलीसँग चुनावी गठबन्धन समेत गर्न खोजेको विषय राणा र लोहनी खेमामा समिक्षाको विषय बन्न थालेको छ । मकवानपुरबाट चुनाव जित्न थापाले ओलीको साथ लिन खोजेको र त्यसका लागि पछिल्लो कदमको समर्थन गरिरहेको राणानिकट एक नेताले बताए । तर, अध्यक्ष राणा काँग्रेससहितको गठबन्धनसँग भित्री रुपमा नजिकिएका छन् । सिन्धुपाल्चोकमा उनलाई चुनावमा विगतबाट नै काँग्रेसको साथ मिल्ने गरेको छ । उनी कुनै हालतमा काँग्रेसबाहेकको गठबन्धनमा मिल्न सक्ने सम्भावना कमजोर छ ।

अर्कोतर्फ, राप्रपाभित्र राजसंस्थासहितको हिन्दुराष्ट्र कि हिन्दुराष्ट्रसहितको गणतन्त्र भन्ने एजेन्डाबीच टकराव छ । अध्यक्ष कमल थापा राजसंस्थासहितको हिन्दुराष्ट्रको पक्षमा छन् । पशुपति शमशेर राणा राजसंस्थाप्रति नरम छैनन् । उनी हिन्दुराष्ट्रको पक्षमा दरिलो रुपमा उभिएका छन् । तर, राजा फर्काउने एजेन्डामा उनको दिलचस्पी छैन ।
अर्का अध्यक्ष डा. लोहनी पनि हिन्दुराष्ट्रसहितको राजसंस्थाको पक्षमा रहेपनि कमल थापाले जत्तिको कडा बोली बोल्ने गरेका छैनन् । कमल थापाको ओलीसँगको निकटताप्रति लोहनीको असन्तुष्टि छ ।

यसरी राप्रपाभित्र ओलीलाई हेर्ने दृष्टिकोणले विवाद चर्कदै गएको छ । यसले फुटको अवस्थासम्म बन्ने खतरा बढेर गएको छ । राप्रपाभित्र बल्लतल्ल मिलेका तीन अध्यक्ष कुनैपनि बेला फुट्ने अवस्थामा पुगेका छन् ।

राप्रपाभित्र दोस्रो तहका नेताहरु दिपक बोहरा, विक्रम पाण्डेलगायतले पनि पार्टीभित्र भविष्य देख्न छाडेका छन् । बोहरा भावी चुनावलाई ध्यान दिएर कुनै दलमा प्रवेश गर्ने सम्मको तयारीमा छन् । रुपन्देहीमा चुनावी गठबन्धनको सम्भावनालाई ध्यान दिएर उनको भावी कदम टुंगो लाग्छ । विक्रम पाण्डे प्रचण्डसँग चुनाव लड्न तयारी अवस्थामा छन् । उनी प्रचण्डविरोधी गठबन्धनमा हुने निश्चितप्रायः छ । विश्वस्त स्रोतका अनुसार पाण्डेको एमालेमा प्रवेश या गठबन्धनको सम्भावना देखिदै गएको छ । उनको पछिल्लो समय ओलीसँग निकटता बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot