Logo

असारमा औसतभन्दा ३ गुणा बढी बीमाशुल्क संकलन



काठमाडौं, साउन ८ । जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल १८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

असार महीनामा प्रथम बीमाशुल्क मात्रै ६ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको छ । बीमा समितिबाट प्राप्त गत आवको एक तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार असार महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको देखिन्छ । नेपाली बीमा बजारमा औसतमा मासिक ५र६ अर्बको हाराहारीमा बीमाशुल्क संकलन हुन्छ । तर, असारमा भने त्योभन्दा बढी अर्थात् झन्डै साढे १८ अर्ब बीमाशुल्क संकलन भएको छ ।

असार महीना आर्थिक वर्षको अन्तिम महीना भएकाले आर्थिक गतिविधि बढी हुने गर्छ । विभिन्न लक्ष्य पूरा गर्न अभिकर्ताहरूले यो समयमा बढी मेहनत गर्छन् । अधिकांश बीमालेखको नवीकरण गर्ने समय पनि यही बेला पर्छ । त्यही कारण यो महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको कम्पनीहरू बताउँछन् ।

कोरोनाको दोस्रो लहरका कारण जेठसम्म जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, असारमा भने जीवन बीमा व्यवसाय उत्साहजनक भएको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार गत वैशाखसम्म मासिक ५र६ अर्ब रुपैयाँको हाराहारीमा बीमाशुल्क संकलन हुँदै आएको थियो । गत वैशाखमा ५ अर्ब २० करोड बीमाशुल्क संकलन भएको थियो । तर, जेठमा बीमाशुल्क संकलन ३ अर्ब ३१ करोड रुपैयाँमा झरेको थियो । असारमा आएर बीमाशुल्क संकलन उच्च विन्दुमा पुगेको देखिन्छ ।

गत आवभर जीवन बीमा कम्पनीहरूको १ खर्ब २० अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot